विषय-सूची

यो हातेपुस्तिका नेपाली भाषामा उपलब्ध गराउनुहुने सिल्लीलाई धन्यवाद। उहाँको प्रयास बिना यो सम्भव हुने थिएन।

१. जनावरहरूले त बच्चा जन्माउँछन्, हामीले किन नपाउने? यो त प्राकृतिक कुरा हो नि!

धेरैजसो मानिसहरू आफ्नो व्यवहारलाई जायज ठहराउन जनावरको उदाहरण दिन्छन् वा "यो त प्राकृतिक हो" भनेर तर्क गर्छन्। तर यो तर्क अलि अनौठो छ किनभने हाम्रो जीवनलाई सहज र राम्रो बनाउने धेरै कुराहरू, जस्तै सफा पिउने पानी, आधुनिक औषधि वा अस्पताल, कुनै पनि प्राकृतिक होइनन् र जनावरहरूमा यस्तो देखिँदैन।

मुख्य कुरा के हो भने, जनावरहरूले त्यस्ता कामहरू पनि गर्छन् जसलाई हामी मानिसको समाजमा सही मान्छौँ (जस्तै: एकअर्कालाई सहयोग गर्नु वा बाँडेर खानु) र त्यस्ता कामहरू पनि गर्छन् जसलाई हामी गलत मान्छौँ (जस्तै: आफ्नै बच्चाको हत्या गर्नु वा बलात्कार गर्नु)। त्यसै गरी, स्वभावैले "प्राकृतिक" मानिने धेरै कुराहरू सही पनि हुन सक्छन् (जस्तै: परोपकार, सहयोग, करुणा) र गलत पनि हुन सक्छन् (जस्तै: आफ्नै बच्चाको हत्या गर्नु वा बलात्कार गर्नु)। त्यसैले, कुनै कुरा प्राकृतिक हुँदैमा वा जनावरले गर्दैमा त्यो कुरा नैतिक रूपमा सही वा गलत हुन्छ भन्न मिल्दैन।

अझ स्पष्टसँग भन्नुपर्दा, हामी मानिसहरूले कुन कुरा गर्ने र कुन नगर्ने भनेर उहिल्यैदेखि छुट्ट्याउँदै आएका छौँ। यसको मतलब, कुन कुरा सही हो र कुन गलत भनेर जाँच्ने हाम्रो आफ्नै अर्कै मापदण्ड छ। त्यसैले, कुनै व्यवहार "प्राकृतिक हो" वा "जनावरले पनि गर्छ" भन्दैमा त्यो नैतिक रूपमा सही भइहाल्दैन भन्ने कुरा हामीले पहिल्यैदेखि स्वीकार गर्दै आएका छौँ।

२. यदि हामीले सन्तान जन्माएनौँ भने त मानिसको अस्तित्व नै लोप हुन्छ नि!

नयाँ मानिस जन्माउनु नैतिक रूपमा सही छ वा छैन भन्ने प्रश्न र मानव जातिको लोप हुने कुरा दुई अलग-अलग विषय हुन्। लोप हुनुको प्रश्न केवल नयाँ मानिसहरू नबन्ने कुरा मात्र होइन, बल्कि जिउँदै रहेका मानिसहरूको जीवन समाप्त हुनु वा समाप्त गरिनु पर्छ कि पर्दैन पनि हो। यद्यपि, प्रजनन-विरोधी सोचको चर्चा गर्दा 'लोप हुने' विषय पनि उठ्ने हुनाले यसलाई सम्बोधन गर्नु महत्त्वपूर्ण छ। 

मानव जाति कुनै भयानक तरिकाले लोप हुन सक्छ र अन्तिम पुस्ताले अरूले कहिल्यै भोग्नु नपरेको कठिनाइको सामना गर्नुपर्ने हुन सक्छ। तर, यो प्रश्न र मानव जातिको अस्तित्व नरहँदा मानिसहरूलाई नै नराम्रो हुन्छ कि हुँदैन भन्ने प्रश्न बिल्कुलै भिन्न हुन्। मानव जाति नरहनु वा लोप हुनुलाई हामीले नराम्रो मान्नुपर्ने कुनै ठोस कारण देखिँदैन। आखिर, अस्तित्व नै नरहेपछि कसैलाई पनि त्यसले दुःखी बनाउने छैन। हाम्रो प्रजाति नरहेकोमा पछुताउने वा विलाप गर्ने कोही पनि त्यहाँ हुनेछैन। 

यसबाहेक, यो कुरा पनि विचारणीय छ कि हाम्रो प्रजातिको अन्त्य एक न एक दिन निश्चित छ। चाहे हामी आफैँले यसको अन्त्य गरौँ वा प्राकृतिक रूपमा होस्, यो केवल समयको मात्र कुरा हो। त्यसैले, यदि हामीले आफ्नो अन्त्य आफैँ व्यवस्थित रूपमा र अलि छिटो गर्न सक्यौ यसका केही फाइदाहरू पनि छन्। भविष्यका पुस्ताहरूले भोग्नुपर्ने (र उनीहरूले अरूलाई दिन सक्ने) अथाह कष्टबाट बचाउनु बाहेक, जानीजानी र योजनाबद्ध रूपमा आफ्नै प्रजातिको अन्त्यतिर अग्रसर हुनुको अर्थ हुन्छ— हामी यसलाई सावधानी र विचार पुर्याएर गर्न सक्छौँ। यसरी बिस्तारै सन्तान उत्पादन घटाउँदै लैजाँदा (आशा छ) अन्तिम पुस्ताको बोझ पनि निकै हलुका हुन सक्छ।

३. अरू सबैले त बच्चा जन्माइहाल्छन् नि! मैले मात्र बच्चा नजन्माउँदैमा के फरक पर्छ र?

हो, एक जना व्यक्तिले मात्र सन्तान नजन्माउँदैमा संसारमा जन्मिने कुल नयाँ मानिसहरूको संख्यामा ठूलो फरक पर्दैन। तर, कसैलाई यो संसारमा ल्याउनु नैतिक रूपमा सही छ वा छैन भन्ने कुरा त्यो चलन कति व्यापक छ भन्ने आधारमा निर्धारण गरिनु हुँदैन। अरूले सन्तान जन्माऊन् वा नजन्माऊन्, बच्चा जन्माउने कार्यको नैतिक मूल्याङ्कन त्यसको आफ्नै गुण-दोषको आधारमा गरिनुपर्छ।

हामी यस्तो तर्क अन्य परिस्थितिहरूमा कहिल्यै स्वीकार गर्दैनौँ। कल्पना गर्नुहोस्, तपाईं यस्तो समाजमा बस्नुहुन्छ जहाँ शिशुहरुको जननाङ्ग बिछेदन गर्ने प्रचलन व्यापक रूपमा छ। त्यो चलन धेरैले अँगालेको छ भन्दैमा त्यो नैतिक रूपमा जायज हुन सक्दैन। त्यसै गरी, यदि समाजमा दासप्रथा व्यापक थियो भने, 'यो त सबैले गर्ने चलन हो' भन्दैमा कसैलाई दास बनाएर राख्नु नैतिक रूपमा उचित हुँदैनथ्यो। यो तर्क प्रजनन वा सन्तान जन्माउने विषयमा मात्र किन स्वीकार गर्ने?

यसबाहेक, एक जना व्यक्तिले सन्तान नजन्माउँदा पनि केही न केही सकारात्मक प्रभाव पर्न सक्छ— सम्भावित बच्चालाई दुःखबाट बचाउनु बाहेक पनि यसका अन्य महत्व छन्। जसले बच्चा नजन्माउने निर्णय गर्नुहुन्छ, उहाँहरूले सन्तान नजन्माउने चलनलाई सामान्यीकरण गर्न र अरूलाई बच्चा जन्माउन दबाब दिने सामाजिक मूल्य-मान्यताहरूलाई कमजोर पार्न मद्दत गरिरहनुभएको हुन्छ।

४. हामीसँग प्रजनन प्रणाली हुनुको कुनै न कुनै कारण त छ नि! हामीले सन्तान जन्माउनुपर्छ।

हामीसँग कुनै कुरा गर्ने क्षमता छ भन्दैमा हामीले त्यो काम गर्नै पर्छ भन्ने अर्थ लाग्दैन। हामीसँग यौन सम्बन्ध राख्न सक्ने जैविक क्षमता छ। तर हाम्रो त्यो क्षमताले मात्रै यौन सम्बन्ध दुवैको सहमतिमा हुनुपर्छ भनेर सिकाउँदैन; तैपनि, हामी जैविक क्षमताभन्दा माथि उठेर यसलाई नैतिक दृष्टिकोणले हेर्छौँ र सहमति अनिवार्य छ भन्ने कुरा बुझ्छौँ।

अब कसैले भन्न सक्लान्, “प्रजनन नै हाम्रो जैविक उद्देश्य हो, हामी अस्तित्वमा हुनुको एकमात्र कारण नै यही हो।” विकासक्रमको हिसाबले हामी आफ्ना जीनहरूलाई अगाडि बढाउनका लागि अस्तित्वमा छौँ भन्ने कुरा सत्य भए पनि, यसले बच्चा जन्माउनु नैतिक रूपमा सही वा गलत के हो भन्ने कुरामा कुनै प्रभाव पार्दैन। विकासक्रम भनेको कुनै सोच-विचार वा रोजाइ भएको मानिस वा शक्ति होइन; यो त भूक्षय वा वाष्पीकरण जस्तै एउटा प्राकृतिक प्रक्रिया मात्र हो।

बच्चा जन्माउनै पर्छ भन्ने कट्टर समर्थकहरूले पनि कम्तीमा केही यस्ता परिस्थितिहरू त पक्कै स्वीकार गर्छन् जहाँ बच्चा जन्माउनु नैतिक रूपमा सही मानिँदैन। यस्ता परिस्थितिहरू हुनुले नै यहि पार्छ कि बच्चा जन्माउने क्षमता हुनु मात्रै बच्चा जन्माउनुका लागि पर्याप्त कारण वा औचित्य हुन सक्दैन।

५. मेरो धर्मले मलाई सन्तान जन्माउने अनुमति दिन्छ।

धेरै मानिसहरू आफ्ना धार्मिक मान्यताहरू अरूमाथि थोपर्न पाइनुपर्छ वा अरूको व्यवहारलाई आफ्नो धार्मिक भावनाअनुसार मोड्न सकिनुपर्छ भन्ने ठान्छन्। तर यो तर्क दुवैतर्फ लागू हुने बाटो हो। यदि कसैले आफ्नो धार्मिक मान्यताकै आधारमा अरूमाथि नियम वा प्रतिबन्ध लगाउन मिल्छ भन्ने मान्छन् भने, अरूका धार्मिक मान्यताले पनि उनीहरूमाथि उस्तै प्रतिबन्ध लगाउन पाउने बाटो खोल्छ। यस उदाहरणलाई हेरौँ: कुनै धार्मिक व्यक्तिले धर्मबाट प्रेरित भएर समलिङ्गीहरूविरुद्ध कडा कानुन बनाइँदा स्वागत गर्न सक्छन्, तर त्यस्तै धार्मिक आधारमै समलिङ्गी विरोधीहरू (उनीहरू स्वयम्) लाई नै जेल हाल्ने कानुन ल्याइयो भने पक्कै समर्थन गर्दैनन्।

नयाँ मानिसलाई जन्म दिनु भनेको उसलाई गम्भीर कष्ट वा जोखिममा पार्नु हो। यदि कसैले आफ्नो धार्मिक मान्यताका आधारमा यसलाई जायज ठहराउँछन् भने, उनीहरूले यो कुरा पनि स्वीकार गर्नुपर्छ कि अरूले पनि उस्तै धार्मिक कारण देखाएर उनीहरूमाथि पनि उत्तिकै गम्भीर हानि पुर्‍याउन सक्छन्। तपाईं अरूका लागि एउटा नियम बनाउने अनि आफू चाहिँ त्यसको असरबाट जोगिन पाउने आशा गर्न सक्नुहुन्न। साधारण भाषामा भन्दा, धर्मको आड लिएर आफू अनुकूलको मात्र फाइदा उठाउन मिल्दैन।

अन्त्यमा, एउटा ध्यान दिनुपर्ने कुरा के छ भने, प्रजनन-विरोधी सोचलाई स्वीकार गर्नका लागि स्वयं धार्मिक कारणहरू नै काफी छन्। उदाहरणका लागि, यदि कुनै व्यक्ति नरकको अस्तित्वमा विश्वास गर्छ भने, उसले बच्चा जन्माउँदा केवल एउटा छोटो मानव जीवन मात्र होइन, बल्कि अनन्त कालसम्म नरकको यातना भोग्न सक्ने जोखिममा कसैलाई पारिरहेको हुन्छ। अरू कसैको तर्फबाट यति ठूलो जोखिम लिनु कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन।

६. अन्तिम पुस्ताको हेरचाह कसले गर्छ त?

हामी जिउँदै रहेका मानिसहरू धेरै सेवा र सुविधाहरूमा निर्भर छौँ—जस्तै सामाजिक सुरक्षा, हेरचाह प्रणाली र विश्वव्यापी आपूर्ति व्यवस्था। यी सबै कुरा नयाँ मानिसहरूको जन्ममा टिकेका छन्। यस हिसाबले हामी निकै भाग्यमानी छौँ। तर, अन्तिम पुस्ताले भने यस्ता सुविधाहरू पाउनेछैन (यदि हामीले यी प्रणालीहरूलाई मानिसको जनशक्तिमा मात्रै भर पर्न नपर्ने गरी बदल्न सकेनौँ भने)। फलस्वरूप, अन्तिम पुस्ताले यस्ता ठूला चुनौतीहरूको सामना गर्नुपर्ने हुन सक्छ जुन हामीले कहिल्यै भोग्नुपरेको छैन। यो पक्कै पनि एउटा अन्याय हो—तर त्यो अवस्थाबाट बच्नका लागि अर्को नयाँ पुस्ता जन्माउनु पनि त अर्को ठूलो अन्याय नै हो।

आफ्ना समस्या वा कठिनाइहरू सुल्झाउनका लागि कसैलाई जन्म दिनु (चाहे तपाईं नै अन्तिम पुस्तामा किन नहुनुहोस्) नैतिक रूपमा सही मान्न सकिँदैन, र धेरैजसो मानिसहरूले अन्य परिस्थितिहरूमा यो कुरा बुझेका पनि छन्। मानौँ, तपाईं १० लाख रुपैयाँ ऋणमा हुनुहुन्छ रे। त्यो ऋण त्येही बच्चाको टाउकामा थुपार्नका लागि मात्र बच्चा जन्माउनु पक्कै पनि नैतिक रूपमा सही हुँदैन—चाहे त्यो ऋण तपाईंको आफ्नै गल्तीले नभएको किन नहोस्। हामीले भोगिरहेका समस्याहरू हाम्रा आफ्नै हुन् र हामी आफैँले व्यहोर्नुपर्छ। भविष्यका सम्भावित मानिसहरूलाई हाम्रा दुःखबाट उम्किने 'फ्री टिकट' वा साधनको रूपमा हेर्नु हुँदैन।

अझ विचारणीय कुरा के छ भने, हामीले चाहे पनि नचाहे पनि एक न एक दिन अन्तिम पुस्ता त आउने नै छ, र उनीहरूले भोग्ने चुनौतीहरूको कुनै पूर्ण समाधान नहुन पनि सक्छ। तर, त्यो अन्तिम पुस्ताको आगमनका लागि पहिल्यैदेखि तयारी गर्नु र उनीहरूलाई सकेसम्म राम्रो जीवन जिउन मद्दत गर्ने प्रणालीहरू बनाउनु नै हाम्रा लागि उत्तम बाटो हो। अनि उनीहरूले पनि आफू कस्तो कठिन परिस्थितिमा छन् भन्ने बुझेर त्यसैअनुसार सम्भव भएसम्म राम्रो जीवन जिउने प्रयास गर्नुपर्छ—न कि आफ्ना दुःख पन्छाउन फेरि नयाँ मानिसहरू जन्माएर उनीहरूमाथि ठूलो हानि थुपार्ने।

कुनै अपत्याशित विपत्ति वा विनाशले अचानक सखाप हुनुभन्दा, हाम्रो प्रजातिको निश्चित अन्त्यलाई बुझेर सोचविचारपूर्वक र स्वच्छिक रूपमा मानव जातिको अन्त्यतिर अगाडि बढ्नु नै धेरै नैतिक र समझदारीपूर्ण बाटो देखिन्छ।

७. यो संसारमा यति धेरै दुःख छ कि, मैले एउटा बच्चा जन्माउँदैमा के नै फरक पर्छ र? यो त समुद्रमा पानीको एक थोपा मात्रै त हो नि!

कसैलाई यो संसारमा ल्याउनु भनेको कुनै सामान्य कुरा होइन। यसले त्यो नयाँ मानिसमाथि ठूलो हानि र कष्ट थुपार्छ—किनकि हामी हरेकको जीवनमा गम्भीर दुःख, अन्याय, मृत्यु र अन्य अनेकौँ पीडाहरू हुन्छन् नै। यसका साथै, यसले उनीहरूलाई क्लस्टर टाउको दुखाइ वा कुनै गम्भीर वंशीय रोगजस्ता असह्य पीडाहरू भोग्नुपर्ने जोखिममा पनि पार्छ। जब हामी 'समुद्रको एक थोपा' को कुरा गर्छौँ, तब मुख्य ध्यान त्यो समुद्रमा होइन, बल्कि त्यो थोपाको आकार र त्यसले पार्ने असरमा हुनुपर्छ।

यस संसारमा धेरै दुःख छ भन्दैमा त्यसले हामीलाई आफूखुसी काम गर्ने छुट दिँदैन। अनि हामीले जन्माउने नयाँ मानिसको निम्ति पनि यसले कुनै कुरामा फरक पार्दैन (बरु अवस्थालाई झन् खराब पो बनाउँछ)। संसारभरि दुःख व्याप्त छ भन्दैमा त्यसलाई आफ्नो नैतिक जिम्मेवारीबाट पन्छिने वा चोखिने बहाना बनाउन मिल्दैन। हामीमध्ये प्रत्येकसँग आफ्ना काम, कर्तव्यहरूमाथि कम्तीमा पनि केही हदसम्म नियन्त्रण हुन्छ र त्यसको जिम्मेवारी हामी आफैँले लिनुपर्छ।

यसबाहेक, यदि हामीले यस्तो तर्कलाई छुट दिने हो भने, संसारका जुनसुकै अनैतिक कामहरूलाई पनि 'समुद्रमा पानीको एक थोपा' भन्दै जायज ठहराउन सकिन्छ। कल्पना गर्नुहोस्, छिमेकीको कुकुरले आफ्नो घाँसे बगैंचा फोहोर बनाइदियो भन्दैमा छिमेकीको घरमा आगो लगाइदिने मानिसले 'यो त समुद्रमा एक थोपाजस्तै त हो नि' भनी तर्क गर्यो भने हामी के भन्छौँ? हामी तुरुन्तै बुझ्छौँ कि यो कुनै पनि हालतमा सही औचित्य हुन सक्दैन।

८. मेरो बच्चाले जीवनमा क्यान्सरको उपचार पत्ता लगाउने जस्ता ठूला र राम्रा कामहरू पो गर्न सक्छ त!

अचम्मको कुरा के छ भने, यो आपत्तिले त्यस्तो समस्यालाई समाधान गर्न नयाँ मानिस जन्माउने कुरा गर्छ, जुन समस्या आफैँमा मानिसहरूको जन्मका कारणले उत्पन्न भएको हो। अनि दुःखको कुरा, हामीले जन्माउने त्यो बच्चाले क्यान्सरको उपचार गर्ने सम्भावनाभन्दा उसलाई नै क्यान्सर लाग्ने सम्भावना धेरै बढी हुन्छ। दार्शनिक पिटर वेसल जापफेले भनेजस्तै हो: 'यो संसारमा बच्चा जन्माउनु भनेको आगोले डढिरहेको घरमा दाउरा थप्नुजस्तै हो।'

क्यान्सरजस्ता रोगहरूको उपचारको प्रयासमा मद्दत गर्ने अझ व्यावहारिक तरिका के हो भने— बच्चा हुर्काउनमा खर्च हुने स्रोत र साधनहरूलाई सीधै क्यान्सरको उपचार खोज्ने काममा लगानी गर्नु। अथवा, त्यही स्रोत प्रयोग गरेर विद्यालय जान नपाएका थुप्रै बालबालिकाको पठनपाठनमा सहयोग गर्नु, ताकि उनीहरूमध्ये कसैले (आशा छ) भोलि क्यान्सरको उपचार पत्ता लगाउन योगदान दिन सकून्।

हामीले आफ्नो बच्चाले भविष्यमा कस्तो प्रभाव पार्न सक्छ भन्ने कुरा पनि गम्भीर भएर सोच्नुपर्छ। यो सत्य हो कि उनीहरूले क्यान्सरको उपचार पत्ता लगाउने सम्भावना थोरै भए पनि छ, तर उनीहरूले ठूलो मात्रामा दुःख र कष्ट निम्त्याउने सम्भावना (विशेष गरी गैर-मानव जनावरहरूका लागि) धेरै बढी छ। यदि कसैले एउटा असल र योग्य बच्चा हुर्काउने अनुकूल वातावरण दिन सक्छ भने पनि, उसले कुनै बच्चालाई कानूनी रूपमा अपनाउन सक्छ नि! अहिले पनि संसारभर लाखौँ बालबालिका छन् जो आफ्नो क्षमता पूर्ण रूपमा उपयोग गर्न पाइरहेका छैनन्। यदि उनीहरूलाई अवसर दिइयो भने, उनीहरूले पनि यो संसारमा ठूलो र सकारात्मक प्रभाव पार्न सक्छन्।

९. मलाई बुढेसकालमा सहारा दिन र हेरचाह गर्न त बच्चा चाहिन्छ नि! नत्र म एक्लो हुनेछु र मलाई कसैको साथ-सहयोग मिल्नेछैन।

यो चिन्ता र डरलाई हामी सबैले सहानुभूतिपूर्वक बुझ्न जरुरी छ। हामीमध्ये कसैले पनि आफ्नै सहमतिमा यो संसारमा आउने निर्णय गरेका होइनौँ। त्यसैले, बुढेसकालमा आइपर्ने शारीरिक र सामाजिक बोझहरू हामीले स्वैच्छिक रूपमा रोजेका कुरा होइनन्। तर यसो भन्दैमा, आफ्ना कठिनाइहरू हल गर्नका लागि अर्को नयाँ मानिस जन्माउनु जायज हुन सक्दैन।

आफ्नो कुनै बोझ वा दुःख कम होला भन्ने आशामा कसैलाई जन्म दिनु भनेको त्यस्तो कुरा हो जसलाई सन्तान जन्माउनुपर्छ भन्ने धेरैजसो समर्थकहरूले पनि अस्वीकार गर्छन्। यदि हामीले यही तर्कलाई सही मान्ने हो भने त, मानिसहरूले आफ्नो आर्थिक ऋण घटाउन (र त्यो भार ती बच्चाको टाउकामा थुपार्न) बच्चा जन्माउनुलाई पनि सही मान्नुपर्ने हुन्छ। तर यदि हामीले इमानदारीपूर्वक विचार गर्ने हो भने, अधिकांश मानिसहरूले यसलाई नैतिक रूपमा गलत वा कम्तीमा शंकास्पद कार्य मान्नेछन्।

बुढेसकालको हेरचाह र सहायताको समस्यालाई सम्बोधन गर्ने अरू धेरै उपयुक्त र व्यावहारिक उपायहरू छन्: १) ज्येष्ठ नागरिकहरूका लागि हेरचाह र समुदाय प्रदान गर्ने संस्थाहरू वा सेवाहरू खोज्नु, २) आफूजस्तै उस्तै परिस्थिति भोगिरहेका अन्य मानिसहरूसँग मिलेर आफ्नै समुदाय बनाउनु, र ३) कुनै अप्ठ्यारोमा परेका वा आवश्यकता भएका बालबालिकालाई उनीहरूको भलाइका लागि संरक्षणमा लिनु (धर्मपुत्र/धर्मपुत्री बनाउनु), र बदलामा उनीहरूले पनि पछि तपाईंको हेरचाह गर्ने बाटो रोज्न सक्छन्। अनि बच्चा जन्माउन र हुर्काउनमा खर्च हुने स्रोत-साधनहरूलाई नै यस्ता सेवा वा उपायहरूमा लगानी गर्न सकिन्छ।

१०. सन्तान जन्माउनु नै मेरो जीवनको एकमात्र चाहना हो, बच्चाबिना मेरो जीवन अर्थहीन हुन्छ।

यो तर्क आफैँमा बुझ्न सकिने खालको छ। धेरै मानिसहरूमा बच्चा जन्माउने तीव्र इच्छा हुन्छ र उनीहरूले आफ्ना धेरैजसो योजनाहरू परिवार बसाल्ने कुरामै केन्द्रित गरेका हुन्छन्— तर यसैका आधारमा यो कार्य नैतिक रूपमा सही ठहरिँदैन।

कुनै कुराबाट हामीलाई सन्तुष्टि वा जीवनको अर्थ मिल्छ भन्दैमा त्यो काम नैतिक रूपमा गर्नु हुन्छ कि हुँदैन भन्ने कुरा तय हुँदैन। कसैले अरूमाथि विजय प्राप्त गर्नु वा लागूऔषधको गिरोह चलाउनुमा जीवनको अर्थ देख्न सक्छन्, तर हामी त्यसकै आधारमा ती कामहरूलाई सही मान्दैनौँ। अझ जैविक रूपमा आफ्नै सन्तान जन्माउनुको सट्टा धर्मपुत्र/धर्मपुत्री अपनाउने वा पालनपोषण गर्ने जस्ता विकल्पहरू हुँदा त यो कुरा झनै लागू हुन्छ। (पक्कै पनि, कसैलाई धर्मपुत्र/धर्मपुत्री अपनाउँदा उनीहरूकै हितलाई प्राथमिकतामा राखिनुपर्छ, तर बच्चा हुर्काउने व्यक्तिले पनि त्यसबाट जीवनको एक किसिमको अर्थ र सन्तुष्टि पाउन सक्छ भन्ने कुरा स्वीकार्नु उचित नै हुन्छ।)

यसका साथै, अरूसँगको सम्बन्धबाट जीवनको अर्थ खोज्नु स्वभाविक भए तापनि, अहिलेसम्म अस्तित्वमै नरहेको (नजन्मेको) मानिससँगको सम्बन्धमा जीवनको यति ठूलो उद्देश्य जोड्नु स्वस्थ मानसिकता नहुन सक्छ। कुनै खास व्यक्तिमा मात्र निर्भर नभई अन्य क्षेत्रहरू—जस्तै सामाजिक परिवर्तनका लागि काम गर्नु वा आफ्नो रुचि/आकांक्षा पूरा गर्ने परियोजनामा लाग्नु—बाट जीवनको अर्थ र सन्तुष्टि खोज्ने क्षमता बढाउनु र आफ्नो भित्री मनमै सन्तोष पैदा गर्नु हामी सबैका लागि अझ उत्तम र स्वस्थ बाटो हुन सक्छ।

११. म मेरो बच्चालाई एउटा धेरै राम्रो जीवन दिन सक्छु, उनीहरूले त्यति धेरै दुःख भोग्नुपर्ने छैन।

कुनै पनि जीवन सुरु गर्नु लायक हुँदैन। सबैभन्दा राम्रा भनिने जीवनहरू पनि त्यस्ता आवश्यकता र चाहनाहरू पूरा गर्ने दौडधुपमै बित्छन्, जुन आवश्यकताहरू पहिल्यै उत्पन्न गराउनु नै पर्ने थिएन। अझ ती आवश्यकता र चाहनाहरूलाई सही तरिकाले तृप्त गर्न हामी प्रायः अशक्त हुन्छौँ। यसले गर्दा हामी आफ्नो जीवनको लामो समय निराश र अशान्त अवस्थामा बिताउन बाध्य हुन्छौँ। यसबाहेक, जस्तोसुकै धन-सम्पत्ति र सुविधा भए पनि मानिसलाई बचाउन नसकिने केही दुःखहरू छन्—जस्तै दीर्घरोग, मानसिक तनाव वा डिप्रेसन, दुर्घटना र उत्पीडन। अनि धन-सम्पत्ति भएका मानिसहरूले असाधारण पीडा भोग्नुपर्ने जोखिम अलि कम भए पनि, त्यो जोखिम रहिरहन्छ र कसैमाथि त्यस्तो जोखिम थुपार्नु कुनै पनि हालतमा आवश्यक छैन।

अझ आधारभूत रूपमा भन्नुपर्दा, हामीले आफ्नो जीवनमा मूल्यवान् ठानेका कुराहरू हाम्रा लागि तब मात्र अर्थपूर्ण हुन्छन् जब हामी अस्तित्वमा हुन्छौँ। जो मानिस अस्तित्वमै छैन (नजन्मेको मानिस), उसलाई यी कुराहरू भोग्न वा पाउनका लागि यो संसारमा आउने कुनै चाहना वा चासो हुँदैन। कसैलाई जन्म दिएर, हामी उसभित्र तिनै कुराहरूको आवश्यकता र चाहना पैदा गरिदिन्छौँ, जसको फाइदा दिनका लागि हामीले उसलाई जन्माएको हो भनेर दाबी गरिरहेका हुन्छौँ। यो तर्क पूर्ण रूपमा तर्कहीन र निरर्थक देखिन्छ।

अन्त्यमा, हामीले हाम्रा सन्तानको जीवनको स्तर वा गुणस्तरमाथि आफ्नो कति नियन्त्रण छ भन्ने कुराको बढी मूल्याङ्कन गर्नबाट बच्नुपर्छ। उनीहरूलाई ल्याइँदै गरेको यो संसार हाम्रा नियन्त्रणबाहिरका अनेकौँ भयावह घटनाहरूले भरिएको छ—जस्तै हिंसा, आतङ्कवाद, बलात्कार, प्राकृतिक विपत्ति, दुर्घटना, उत्पीडन र रोगव्याधि।

१२. ढिलो-चाँडो हामीले प्रविधि वा नवप्रवर्तन मार्फत दुःखको पूर्ण रूपमा अन्त्य गर्नेछौँ। त्यसपछि त कुनै समस्या नै रहनेछैन!

वास्तवमा, मानिसहरूले कहिल्यै दुःखको अन्त्य गर्न सक्नेछन् वा छैनन् भन्ने कुरा हामी कसैलाई थाहा छैन। तर एक छिनका लागि यो सुझावलाई मानौं (कुनै न कुनै विन्दुमा) हामीले दुःख हटाउन सक्यौँ। तर पनि, यसले भविष्यका नयाँ पुस्ता जन्माउनुपर्छ भन्ने औचित्य वा कारण भने दिँदैन।

पहिलो कुरा, भविष्यका पुस्ताले भोग्ने जुन दुःखलाई हामी अन्त्य गर्ने कुरा गरिरहेका छौँ, त्यो दुःख हुनुको मुख्य कारण नै हामीले उनीहरूलाई जन्म दिनु हो। दार्शनिक डेभिड बेनाटारले भनेजस्तै: “यो उत्सुकताको कुरा हो कि असल मानिसहरू आफ्ना बालबालिकालाई दुःखबाट बचाउन ठूलो प्रयास गर्छन्, तर उनीहरूमध्ये विरलै मानिसहरूले के कुरा विचार गर्छन् भने— आफ्ना बालबालिकालाई सबै दुःखबाट बचाउने एकमात्र र पक्का उपाय उनीहरूलाई यो संसारमै नल्याउनु हो।” कसैलाई जन्माएर पहिले दुःखको जोखिममा पार्नु र त्यसपछि उनीहरूले भोग्ने हानि कम गर्ने प्रयास गर्नुको कुनै अर्थ रहँदैन। अझ खास गरी, उनीहरू अस्तित्वमै नहुने भएकाले उनीहरू कुनै पनि सुख-सुविधा वा आनन्दबाट वञ्चित पनि हुनुपर्दैन।

दोस्रो कुरा, यदि हामीले बच्चा जन्माउन छाड्यौँ भने, भविष्यका पुस्ताको दुःख हटाउनमा खर्च हुने सम्पूर्ण शक्ति र स्रोत-साधनलाई अहिले नै अस्तित्वमा रहेका मानिसहरू तथा प्राणीहरूको मद्दतमा लगाउन सकिन्छ।

अन्त्यमा, दुःख रातारात वा एकै दिनमा हट्ने कुरा होइन। अहिलेको समयदेखि भविष्यमा दुःख पूर्ण रूपमा हट्ने दिनसम्मका बीचका पुस्ताहरूमा करोडौँ (वा अरबौँ) मानिसहरू जन्मिनेछन्। ती मानिसहरूले गम्भीर कष्ट र पीडा भोग्नुपर्नेछ; र यो सबै केवल धेरै टाढाका भविष्यका मानिसहरूलाई ती दुःखबाट मुक्त गर्नका लागि हुनेछ, जुन दुःखहरू उनीहरूलाई नजन्माएरै सजिलै पन्छाउन सकिन्थ्यो।

१३. हामीले सधैँ सन्तान जन्माउँदै आएका छौँ। यो त एकदमै सामान्य कुरा हो!

मानिसहरूले सधैँ सन्तान जन्माउँदै आएका छन् भन्ने सत्यले मात्रै भविष्यमा पनि सन्तान जन्माउने काम निरन्तर गरिराख्नुपर्छ भन्ने कुनै नैतिक औचित्य दिँदैन। हाम्रो इतिहासको थालनीदेखि नै मानिसहरूले एक-अर्कालाई मार्ने र अङ्ग भङ्ग गर्ने काम गर्दै आएका छन्, तर एक-अर्कालाई मार्ने र काट्ने यस्तो कामलाई निरन्तरता दिनुपर्छ भनेर कसैले पनि नैतिक कारण वा समर्थन दिन सक्दैन भन्ने कुरा त सबैका लागि स्पष्ट नै छ।

यो आपत्तिले भनेझैँ, सन्तान जन्माउने चलन पनि समाजमा सामान्यीकरण भइसकेको छ। तर, कुनै पनि कुरा सामान्य बन्नु—र त्यसमा सहभागी नहुँदा समाजले अपहेलना वा लाञ्छना गर्नु—त्यसले त्यसको नैतिक औचित्य पुष्टि गर्दैन। कुनै पनि किसिमको गहिरो नैतिक मूल्याङ्कनबिना समाजले स्वीकार गरेका कुराहरू अन्धो भएर पछि लाग्नु भनेको नैतिकताभन्दा पनि केवल भिडको पछि दौडिनु जस्तै हो।

मानव दासप्रथाकै उदाहरण लिऔँ। यो प्रथा अति प्राचीनकालदेखि चलेको हो (र आज पनि कतै-कतै छ) र मानव इतिहासको लामो हिस्सामा यसलाई एकदमै सामान्य रूपमा लिइन्थ्यो। तैपनि, आजका सभ्य मानिसहरू यसको घोर भर्त्सना गर्छन्। त्यसैले, जुनसुकै चलन किन नहोस्, चाहे त्यो जति  नै पुरानो वा सामान्य नभएको किन नहोस्—त्यसलाई गहिरो नैतिक परीक्षण वा मूल्याङ्कनको कसीमा जाँच्नै पर्छ।

१४. म एउटा मात्र बच्चा जन्माउँदै छु—तीन वा चारवटा जन्माउनु भन्दा यो त राम्रै हो नि!

तीन वा चारवटा बच्चा जन्माउनु भन्दा एउटा मात्रै बच्चा जन्माउनु कम नराम्रो होला, तर हामीसँग कसैलाई पनि नजन्माउने विकल्प पनि त छ नि! अनि कुनै बच्चालाई जन्म दिनु नैतिक रूपमा सही छ वा छैन भन्ने कुरा तपाईंले जन्माउन सक्ने सम्भावित बच्चाको संख्यामा निर्भर हुँदैन। प्रत्येक बच्चालाई जन्म दिने निर्णयको औचित्य त्यही एउटै बच्चाको व्यक्तिगत सन्दर्भमा मापन गरिनुपर्छ।

यो कुरा अरू धेरै विषयहरूमा पनि लागू हुन्छ। उदाहरणका लागि चोरीलाई नै लिनुहोस्: एउटा मात्र सामान चोर्नु चार-पाँचवटा सामान चोर्न जति नराम्रो नहोला, तर चोरी त चोरी नै हो नि! त्यो एउटा सामान चोर्नु नैतिक रूपमा सही छ वा गलत भन्ने कुरा त्यसैको आधारमा जाँचिनुपर्छ—न कि तपाईंले चोर्न सक्ने अन्य काल्पनिक वस्तुहरूको संख्यासँग दाँजेर।

यसमा अर्को एउटा महत्त्वपूर्ण पाटो पनि विचार गर्नुपर्छ: एउटा मात्र बच्चा जन्माउनु भनेको केवल त्यो एउटा बच्चालाई मात्र संसारमा ल्याउनु होइन, बल्कि यस्तो मानिसलाई जन्माउनु हो जसले भोलि गएर थप धेरै मानिसहरूलाई जन्म दिने शृङ्खलामा सहभागी हुन सक्छ। यसरी जन्मका कारण ती सबै नयाँ मानिसहरू विभिन्न कष्ट र पीडाको जोखिममा पर्छन्।

१५. सन्तान नजन्माउनु र उनीहरूलाई जीवनको अवसरबाट वञ्चित गर्नु स्वार्थीपन हो।

कसैलाई नजन्माउनु भनेको उसलाई जीवनबाट वञ्चित गर्नु होइन। किनकि उनीहरू अस्तित्वमै छैनन्। जन्म लिनु अघि नै कुनै व्यक्ति अस्तित्वमा रहेको हुन्छ भनेर विश्वास गर्ने कुनै तार्किक आधार छैन। नजन्मिँदै जीवनका लागि तड्पिरहने कुनै काल्पनिक जीवहरू वा आत्माहरू कहीं पनि हुँदैनन्। यदि कसैलाई जन्म नदिनु भनेको साँच्चै उनीहरूलाई जीवनबाट वञ्चित गर्नु हो भने, हामीले आफ्नो आर्थिक क्षमताले धान्न सक्नेसम्मको अधिकतम संख्यामा बच्चा नजन्माउनु त हामी सबैको गल्ती वा अपराध ठहरिन्थ्यो नि!

वर्तमान समयको सन्तानमुखी मान्यताका कारण धेरै मानिसहरूले बच्चा जन्माउनु र हुर्काउनुलाई एक निःस्वार्थ कार्यका रूपमा हेर्नु स्वाभाविक जस्तै बनेको छ। तर, यो दृष्टिकोणलाई अलि फरक ढङ्गले सोच्न र बुझ्न जरुरी छ। यद्यपि जैविक आमाबाबुले आफ्नो बच्चाको हेरचाह र विकासमा प्रशस्त समय र स्रोत लगानी गर्छन्, तर यसलाई परोपकार वा समाज सेवाजस्तो पूर्ण रूपमा निःस्वार्थ कार्य भने मान्न सकिँदैन। मानिसहरू आफ्नो र आफ्नो परिवार वा समाजको चाहना पूरा गर्नका लागि—आफ्नै इच्छाले बच्चा जन्माउँछन्, न कि भविष्यमा जन्मिने बच्चाको भलाइका लागि। बच्चा हुर्काउन उनीहरूले प्रयोग गर्ने स्रोत-साधनहरू सन्तानलाई दिइएको कुनै उपहार वा दान होइनन्; ती त सन्तान जन्माउने निर्णय गर्दा आमाबाबुले स्वेच्छाले स्वीकार गरेका दायित्वहरू हुन्, जुन उनीहरूले चुकाउनै पर्छ।

यसबाहेक, जन्म लिएकै कारण बच्चाले दुःख र कष्ट भोग्नुपर्ने हुन्छ, र यो कुरा बच्चा जन्माउँदा आमाबाबुलाई पनि थाहा हुन्छ। तर पनि उनीहरूले आफ्नो चाहनाका लागि मात्र बच्चा जन्माउँछन्। यो यथार्थलाई धेरै मानिसहरूले 'स्वार्थीपन' भनेर स्वीकार नगर्नु दुःखद कुरा हो, तर यस्तो सोचाइ समाजमा गहिरो गरी सामान्यीकरण भइसकेको हुनाले नै यस्तो भएको हो।

१६. तिमी त डिप्रेसनमा पो रहेछौ, जीवनको उज्ज्वल वा सकारात्मक पाटोतिर पनि हेर्न सिक्नुपर्छ।

प्रजनन-विरोधीहरूलाई मानिसहरूले बढी नै निराशावादी देखे भने त्यो एक हिसाबले बुझ्न सकिने कुरा हो। अस्तित्व वा जीवनका नकारात्मक पक्षहरूतिर ध्यानाकर्षण गराइरहेको व्यक्तिसँग कसैको यो पहिलो भेट वा संवाद हुन सक्छ। तर, प्रजनन-विरोधीहरूले जीवनका यी नकारात्मक पाटाहरूलाई अगाडि ल्याउनु कुनै आधारहीन कुरा होइन, किनकि धेरैजसो मानिसहरू अस्तित्वका बारेमा अनपेक्षित रूपमा बढी नै आशावादी हुन्छन्; अनि यही अन्ध-आशावादले प्रायः उनीहरूलाई नयाँ मानिस जन्माउन प्रोत्साहित गरिरहेको हुन्छ।

यसको अर्थ प्रजनन-विरोधीहरू सधैँ नकारात्मकतामै डुबेर बस्नुपर्छ भन्ने बिलकुलै होइन।अस्तित्वभित्रका तीता सत्य र दुःखहरूलाई गम्भीरताका साथ स्वीकार गर्दै आफ्ना दैनिकीलाई सकेसम्म आनन्दका साथ बिताउनु सम्भव छ। पक्कै पनि, केही प्रजनन-विरोधीहरू डिप्रेसनमा हुन सक्छन्, तर सामान्य मानिसहरूमा पनि त धेरैलाई डिप्रेसन भइरहेकै हुन्छ। त्यसैले, प्रजनन-विरोधका तर्कहरूलाई ती तर्क राख्ने व्यक्तिको मानसिक अवस्थाभन्दा अलग राखेर निष्पक्ष रूपमा हेरिनुपर्छ। त्यसो गरिएन भने त विचार वा सन्देशलाई छाडेर सन्देशवाहक (मानिस) को मात्र मूल्याङ्कन गरेजस्तो हुन जान्छ।

प्रजनन-विरोधीहरूलाई 'जीवनको राम्रो पाटोतिर पनि हेर' भन्नुको अर्थ उनीहरूले त्यो पाटो हेर्दै हेरेका छैनन् भन्ने मान्नु हो, जबकि उनीहरूले त्यो पाटो पहिले नै राम्ररी विचार गरिसकेका हुन्छन्। प्रजनन-विरोधको प्रकार अनुसार, जीवनका सुख वा सकारात्मक पक्षहरूलाई कि त नयाँ व्यक्तिमाथि दुःख थुपार्ने कार्यलाई सही ठहराउन अपर्याप्त मानिन्छ, कि तिनलाई मानिस जन्माउने बलियो कारणकै रूपमा लिइँदैन (जबकि जीवनका दुःखहरूलाई मानिस नजन्माउने स्पष्ट कारणका रूपमा हेरिन्छ)।

१७. यदि जीवन यति नै खराब छ भने, तपाईं आफैँ किन आत्महत्या गर्नुहुन्न त?

यो प्रश्नलाई कसैले हेलाँ गर्ने वा लापरवाह तरिकाले सोध्न सक्छ, र यदि त्यसो गरिएको छ भने त्यसको घोर भर्त्सना गरिनुपर्छ। तर, प्रजनन-विरोधबारे राम्रोसँग जानकारी नभएको कोही व्यक्तिले यसलाई एक वास्तविक जिज्ञासाको रूपमा पनि सोध्न सक्छ, जुन एक हदसम्म बुझ्न सकिने कुरा हो।

प्रजनन-विरोधीहरूले अक्सर 'सबैभन्दा राम्रा भनिने जीवनहरू पनि धेरै हदसम्म खराब हुन्छन्' भनेर तर्क गर्छन्; तर यसको यो अर्थ होइन कि यो विचार राख्नेहरू जीवन सधैँ र सबै समय उत्तिकै खराब हुन्छ भनेर सोच्छन्। जीवनका दुःख र पीडाहरू प्रायः खास-खास अवधि वा समयमा केन्द्रित हुन सक्छन्। ती कठिन समयहरूमा कसै-कसैका लागि आफ्नो जीवन अन्त्य गर्ने सोच्नु (केही अवस्थामा) तार्किक लाग्न सक्छ, तर जीवनका अन्य (कम कष्टकर) समयहरूमा उनीहरू फेरि बाँकी जीवन निरन्तरता दिन चाहन सक्छन्।

तर यसमा अझ आधारभूत भ्रम पनि जोडिएको छ—त्यो हो, जीवन 'सुरु गर्नु' र जीवनलाई 'निरन्तरता दिनु' बीचको भिन्नता नबुझ्नु। यी दुई कुराहरू पूर्ण रूपमा फरक हुन्। यदि कोही व्यक्ति पहिल्यैदेखि अस्तित्वमा छ भने, उसले आफू अस्तित्वमा रहिरहने वा नरहने भन्ने निर्णय आफैँ गर्न सक्छ। हुनसक्छ, दुःखबाट बच्ने उसको चाहना यति धेरै प्रबल छैन कि त्यसले जीवनलाई निरन्तरता दिने, सम्बन्धहरू जोगाउने वा आफ्ना सपना/परियोजनाहरू पूरा गर्ने जस्ता अन्य चासो र चाहनाहरूलाई ओझेलमा पार्न सकोस्। 

तर, नयाँ जीवन सुरु गर्ने वा मानिस जन्माउने मामिला भने केही महत्त्वपूर्ण तरिकाहरूबाट पूर्ण रूपमा भिन्न हुन्छ। पहिलो कुरा, यो निर्णय त्यो व्यक्तिले गरेको हुँदैन जसको जीवन सुरु हुँदैछ। यसको मतलब, उसको जीवनमा आउने जुनसुकै दुःख वा पीडा उसको मन्जुरी बिना नै उसमाथि थोपरिएको हुन्छ। दोस्रो कुरा, जन्म लिनु वा जन्मिनुअघि त्यहाँ कुनै त्यस्तो व्यक्ति वा अस्तित्व नै हुँदैन जसले यो संसारमा आउने चाहना राखेको होस्—त्यहाँ पीडाविरुद्ध तौलिनका लागि कुनै इच्छा वा रुचि नै हुँदैन।

१८. बच्चा जन्माउने मेरो व्यक्तिगत निर्णय हो, ममाथि आफ्नो विश्वास वा विचार दबाब नदिनुहोस्!

प्रजनन-विरोधका विचार व्यक्त गर्नु भनेको त्यो सुन्ने व्यक्तिमाथि कुनै कुरा दबाब दिनु होइन।हामी सबैलाई आफ्नो विचार राख्ने स्वतन्त्रता छ र अरूलाई पनि त्यसमा आलोचनात्मक प्रतिक्रिया दिने अधिकार छ, विशेष गरी प्रजननको नैतिकता जस्तो अति महत्त्वपूर्ण विषयमा त यो झनै लागू हुन्छ।

बच्चा जन्माउने कुरा 'व्यक्तिगत रोजाइ' हो भन्ने सन्दर्भमा, यो एक अर्थमा व्यक्तिगत निर्णय हो भने अर्को अर्थमा होइन। यो एक किसिमले व्यक्तिगत रोजाइ हो किनभने बच्चा जन्माउने वा नजन्माउने भन्ने निर्णय तपाईं आफैँले गर्ने हो; तर अर्को अर्थमा यो व्यक्तिगत मात्रै रहँदैन किनकि यसले अर्को एक व्यक्ति (अर्थात् जन्मिने नयाँ सन्तान) को जीवनमा प्रत्यक्ष र गहिरो असर पार्छ। सन्तान जन्माउने कानुनी अधिकार कायम राखिनुपर्छ, तर यसको नैतिक प्रभाव र परिणामहरूमाथि भने गम्भीर समीक्षा र प्रश्न उठाइनुपर्छ।

जब कसैलाई यो संसारमा ल्याउने जस्तो गम्भीर निर्णयको कुरा आउँछ, तब त्यसको पक्ष र विपक्षमा भएका नैतिक तर्कहरूलाई गम्भीरतापूर्वक जाँच्नु हामी प्रत्येकको दायित्व हो। 'व्यक्तिगत रोजाइ' को आडमा लुक्नु भनेको आफ्ना सम्भावित सन्तानहरूप्रति बेइमानी गर्नु हो, किनकि हामीले उनीहरूलाई जन्म दिनु नैतिक रूपमा सही छ वा छैन भन्ने प्रश्नमाथि गम्भीर भएर विचारै गरेका हुँदैनौँ।

१९. बालबालिकाहरू आफ्नो अस्तित्व वा जन्मका लागि आभारी हुनुपर्छ।

यो आपत्ति पहिलो हेराइमा क्रूर वा संवेदनहीन नदेखिन सक्छ, तर कृतज्ञ हुन भनिएका ती बालबालिकाको वास्तविक अवस्थाबारे हामीले सोच्न जरुरी छ। पक्कै पनि, यो तर्क तुलनात्मक रूपमा सहज र सुखी जीवन बिताइरहेका बालबालिकाका हकमा लागू होला, तर यसले यौन तस्करी, आतङ्कवादी आक्रमण जस्ता भयावह अपराधका शिकार भएका वा डिप्रेसन र दीर्घकालीन पीडाको सास्ती भोगिरहेका बालबालिकालाई पनि समेट्छ। यस्तो आपत्ति जनाउने मानिसहरूले ती अभागी बालबालिकालाई पनि यसैमा समावेश गर्छन् र भन्ने सोच्नु अनौठो लाग्न सक्छ—र धेरैले गर्दैनन् पनि—तर केही कट्टर धार्मिक समर्थकहरूले भने साँच्चै त्यसो गर्छन्। र यो कुरालाई हामीले बिर्सनु हुँदैन।

यद्यपि, यो तर्कलाई अलि व्यावहारिक र तर्कसङ्गत रूपमा हेरौँ, जहाँ ध्यान सामान्यतया आरामदायी र राम्रो जीवन बिताइरहेका बालबालिकाहरूमा मात्रै केन्द्रित गरिन्छ। धेरैजसो मानिसहरूले बच्चा जन्माउनु—र उनीहरूलाई जोखिम वा दुःखको मुखमा धकेल्नु—आफ्नै चाहना पूरा गर्नका लागि हो, न कि जन्मिने बच्चाको भलाइका लागि। त्यसो हो भने, जन्मिनु वा अस्तित्वमा आउनु आफैँमा कृतज्ञ हुनुपर्ने कुरा के छ र? राम्रो जीवन पाएकोमा आभारी हुनुपर्छ भन्नु तर्कसङ्गत छैन, किनभने कसैलाई राम्रो जीवनको आवश्यकता वा चाहना नै तब मात्र हुन्छ जब उसलाई पहिल्यै जन्माइसकिएको हुन्छ। राम्रो जीवन त मानिस अस्तित्वमा आइसकेपछि मात्रै उसका लागि फलदायी हुने कुरा हो। त्यसैले, जुन बालबालिकालाई उनीहरूको कुनै माग वा अनुमतिबिनै संसारमा ल्याइयो, जहाँ उनीहरू अनेकौँ दुःख र जोखिमका बीच रहनेछन्, र यदि उनीहरूलाई नजन्माइएको भए उनीहरूले जीवनका सुख-सुविधा नपाएकोमा कुनै पछुतो वा अभाव महसुस नै गर्ने थिएनन्—तिनै बालबालिकासँग कृतज्ञताको आशा गर्नु आफैँमा निकै अनौठो र हास्यास्पद देखिन्छ।

२०. तिमीले आफ्नो समय अहिले नै अस्तित्वमा रहेका मानिसहरूलाई सहयोग गर्नमा खर्चनुपर्छ!

अहिले अस्तित्वमा रहेका मानिसहरूको दुःख र कष्ट कम गर्ने कुरामा ध्यान केन्द्रित गर्न चाहनु पूर्ण रूपमा बुझ्न सकिने कुरा हो, र स्पष्ट छ कि हामीले यो काम गर्नै पर्छ। तर यहाँ दुईवटा कुरा ध्यान दिनु आवश्यक छ: १) समस्या आएपछि समाधान गर्नुभन्दा समस्या नै आउन नदिनु धेरै उत्तम हो (रोकथाम नै उपचारभन्दा उत्तम हो), र २) हामी एकैपटक दुईवटा काम गर्न सक्छौँ।

अनेकौँ यस्ता परिस्थितिहरू छन् जहाँ कुनै हानि वा दुःख हुनै नदिनु त्यसपछि गरिने उपचार वा सुधारभन्दा धेरै गुणा राम्रो हुन्छ भन्ने कुरा हामी स्वीकार गर्छौँ। प्रजनन-विरोधलाई पनि यही दृष्टिकोणबाट बुझिनुपर्छ, किनकि यसले जीवनका सम्पूर्ण दुःख र क्षतिहरूलाई उत्पन्न हुनैबाट रोक्छ। साथै, हामी एकैसमयमा एकभन्दा बढी विषयमा ध्यान दिन सक्छौँ। उदाहरणका लागि, कोही व्यक्ति सरुवा रोगबाट पीडित मानिसहरूलाई मद्दत गर्दै गर्दा गर्भनिरोधक साधनहरूको प्रचार-प्रसार वा प्रवर्द्धनमा पनि जुट्न सक्छ।

वास्तवमा, प्रजनन नगर्नाले अहिलेका मानिसहरूले भोगिरहेका समस्या सुल्झाउनका लागि व्यक्तिको क्षमता अझ बढाउन सक्छ। यसको अर्थ उनीहरूसँग आफ्नो समय र स्रोत-साधन धेरै उपलब्ध हुनेछ, र उनीहरूले अर्को नयाँ व्यक्ति जन्माउने छैनन् जो आफैँ पछि गएर उनीहरूले समाधान गर्न खोजेकै समस्याको शिकार बन्न पुगोस्।

२१. तिमी जन्मिएको थिएनौं भने त अहिले यो कुराकानी गर्न नै अस्तित्वमा हुने थिएनौं नि!

यदि कोही कहिल्यै जन्मिएन भने उसले यो कुराकानी गर्न सक्दैनथ्यो भन्ने कुरा त प्रष्टै छ, तर कसैलाई जन्म दिनु नैतिक रूपमा उचित छ वा छैन भन्ने विषयसँग यसको कुनै सरोकार वा सम्बन्ध छैन। यो कार्य उचित छ वा छैन भनेर कुनै निष्कर्षमा पुग्नका लागि तपाईंले प्रजनन-विरोधका पक्ष र विपक्षमा रहेका तर्कहरूलाई गम्भीरतापूर्वक जाँच्नुपर्छ।

यसबाहेक, यो आपत्तिको अर्थ यस्तो देखिन्छ कि— तपाईं आफैँ पनि आमाबाबुको प्रजननकै कारण जन्मिनुभएको हो, त्यसैले तपाईंलाई सन्तान जन्माउने प्रक्रियाको विरोध गर्ने अधिकार छैन। यो पूर्णतया अर्थहीन कुरा हो। बलात्कारबाट जन्मिएको कुनै व्यक्तिले बलात्कारविरुद्ध आवाज उठायो भने, उसको जन्म त्यही तरिकाले भएको थियो भन्दैमा हामी उसका कुरालाई खारेज गर्दैनौँ नि! कोही पनि व्यक्ति कसरी यो संसारमा यो अस्तित्वमा आयो भन्ने कुरा उसको आफ्नो रोजाइ हुँदैन, र जब उसले आफ्ना नैतिक मान्यता वा विचारहरू निर्माण गरिरहेको हुन्छ, तब उसको जन्मको परिस्थितिलाई उसका विरुद्ध हतियार बनाउनु हुँदैन।

मानिसहरूलाई यो संसारमा ल्याइनु एक दुःखद यथार्थ हो। तर एकपटक उनीहरू यहाँ आइसकेपछि, नयाँ मानिसहरूलाई जन्म दिनु कत्तिको नैतिक वा अनैतिक हो भन्ने विषयमा आफ्ना धारणा बनाउने उनीहरूको पूर्ण अधिकार हुन्छ। प्रजनन-विरोधीहरूको मुख्य तर्क के हो भने, कुनै पनि नयाँ चेतनायुक्त जीवलाई अस्तित्वमा ल्याउनु नै नैतिक रूपमा गलत हो। यदि यो विचारलाई चुनौती दिने हो भने, त्यसको औचित्य वा गुणदोषका आधारमा चुनौती दिनुपर्छ—न कि 'प्रजनन-विरोधीहरू आफ्नो यो विचार राख्नका लागि पहिले जन्मिनैपरेको थियो' भन्‍ने वाहियात कुराको आधारमा उनीहरूका तर्कलाई सीधै खारेज गरिनुपर्छ।

२२. पीडा व्यक्तिगत हुन्छ। तपाईंलाई जुन कुरा दुःख वा कष्ट लाग्छ, त्यो अर्कोका लागि नहुन पनि सक्छ!

पीडा यस अर्थमा व्यक्तिगत हुन्छ कि एउटै किसिमको बाह्य कारण वा उत्तेजनाले विभिन्न व्यक्तिहरूमा फरक-फरक किसिमका नकारात्मक अनुभूतिहरू गराउन सक्छ। तर यसलाई पीडा आफैँमा व्यक्तिगत हुन्छ भनेर बढाइचढाइ दाबी गर्ने आधार बनाइनु हुँदैन। मानिसका रूपमा हामी सबैसँग तीव्र पीडा महसुस गर्न सक्ने साझा स्नायु प्रणाली हुन्छ। यद्यपि हामी प्रत्येकको पीडा सहने क्षमतामा प्राकृतिक भिन्नता हुन्छ—जुन कुरा यो आपत्तिले सङ्केत गर्न खोजेको हुन सक्छ—तर यसले यो सत्यलाई भने खारेज गर्दैन कि हामी सबैमा पीडा महसुस गर्ने क्षमता हुन्छ र पीडाका कारणहरू धेरैजसो पूर्वअनुमान गर्न सकिने खालका हुन्छन् (अर्थात् के गर्दा दुख्छ वा कष्ट हुन्छ भन्ने कुरा पहिल्यै थाहा हुन्छ)।

महत्त्वपूर्ण कुरा के हो भने, मानिसहरूले पीडालाई कसरी अनुभव गर्छन् भन्ने विषयमा रहेको यो व्यक्तिगत भिन्नतालाई अरूमाथि हानि वा कष्ट थोपार्ने कामलाई सही ठहराउनका लागि प्रयोग गर्नु हुँदैन। कसैलाई चक्कुले घोपेर घाइते बनाउने व्यक्तिले आफ्नो अपराधलाई हल्का देखाउनका लागि 'पीडा त व्यक्तिगत पो हुन्छ त!' भन्यो भने उसको कुरालाई कसैले पनि पत्याउँदैन वा गम्भीरतापूर्वक लिँदैन। त्यसैगरी, नयाँ सन्तान जन्माएर उनीहरूमाथि पीडा र दुःख थोपार्ने कार्यलाई पनि 'पीडा त व्यक्तिको आफ्नै अनुभव हो' भनेर सफाइ दिन मिल्दैन।

व्यक्तिहरूले पीडालाई कसरी अनुभव गर्छन् भन्ने कुरामा फरक-फरक भिन्नताहरू भए तापनि, हामी सबैले कुनै न कुनै रूपमा—र प्रायः अत्यधिक मात्रामा—पीडा र कष्ट भोग्नै पर्छ भन्ने यो यथार्थ नै प्रजनन-विरोध तर्कहरूलाई गम्भीरतापूर्वक लिनका लागि पर्याप्त छ। त्यो पीडाको विशिष्ट कारणहरू के-के हुन् भन्ने कुराले त्यति ठूलो अर्थ राख्दैन।

२३. मलाई के गर्ने वा नगर्ने भन्न तिमी को हौ?

यो आपत्ति रक्षात्मक सोचबाट आउँछ, तर यसलाई नैतिक समीक्षाबाट बच्ने ढाल बन्न दिइनु हुँदैन। यदि कसैले अरू कसैको जीवनमा गम्भीर असर पार्ने निर्णय वा काम गर्दैछ भने, उसले त्यो कदम चाल्नुका पछाडि दरिला र तार्किक कारणहरू पेस गर्न सक्नुपर्छ। अनि, कुनै पनि भावनात्मक आक्रोश वा रक्षात्मक प्रतिक्रिया कुनै नैतिक औचित्यको विकल्प हुन सक्दैन।

यस्तो रक्षात्मक भावले कुराकानीलाई मुख्य मुद्दाबाट मोडिदिन सक्छ। संवादलाई पुनः फलदायी र रचनात्मक दिशामा फर्काउन तपाईंले यसरी कुरा राख्न सक्नुहुन्छ:

“यदि मैले तपाईंलाई के गर्ने वा नगर्ने भनेर सिकाउन वा अहराउन खोजेको जस्तो लाग्यो भने माफ गर्नुहोला—त्यो मेरो उद्देश्य बिलकुलै होइन। मानिसहरूले के गर्दा उचित होला भन्नेबारे म आफ्नो दृष्टिकोण मात्रै सेयर गर्दैछु, र सायद तपाईंले पहिले गहराईमा सोच्नुभएको छैन कि भनेर एउटा नयाँ पाटो मात्र देखाउन खोजेको हुँ। म बुझ्छु कि यो विचार धेरै मानिसका लागि अनौठो वा नयाँ लाग्न सक्छ; तर मैले संवाद गरेका धेरैजसो मानिसहरूले जब प्रजनन-विरोधलाई खुला दिलले विचार गर्छन्, तब उनीहरू पनि मान्छन् कि यो विचारसँग बहसका लागि केही न केही मूल्यवान् दृष्टिकोण छ। प्रजनन-विरोधको कुनचाहिँ पाटो वा तर्कसँग तपाईंको सबैभन्दा बढी असहमति छ?'

२४. तिमी त फेरि अर्को जुनीमा जन्मिहाल्छौ नि (पुनर्जन्म हुन्छ नि)। त्यसैले, सन्तान जन्माएनौ भने पनि अन्तिममा कुनै फरक पर्दैन।

यस प्रकारको आपत्तिको जवाफ दिन कठिन हुन्छ यदि त्यो व्यक्तिसँग रहेको विशेष दार्शनिक वा धार्मिक मान्यता स्पष्ट छैन भने। तथापि, यदि हामी पुनर्जन्मको अवधारणालाई नै यथार्थको एक सटीक चित्रण वा सत्य मानेर अगाडि बढ्यौँ भने पनि यसको विरोधमा केही कुराहरू भन्न सकिन्छ।

यदि कसैको यो विश्वास छ कि भौतिक शरीरको मृत्यूपछि पनि चेतना जीवित रहन्छ र नयाँ शरीरमा प्रवेश गर्छ (पुनर्जन्म हुन्छ), तब यो विश्वासले पनि प्रजनन-विरोधको अडानलाई कुनै पनि हालतमा कमजोर बनाउँदैन। आखिर, चेतनाले पुनर्जन्म लिनका लागि पनि त बस्नका लागि एउटा नयाँ शरीर (भाँडो) को आवश्यकता पर्छ नै। यस अर्थमा, प्रजनन नगर्ने कुराको वकालत गर्नु भनेको चेतनाका लागि उपलब्ध हुने ती 'शरीर रूपी भाँडाहरू' को संख्यालाई घटाउनु मात्र हो।

पुनर्जन्मको यो धारणा सत्य होस् वा असत्य, यदि कम बच्चा जन्माइयो भने यो संसारमा दुर्वव्यवहार र अन्य तमाम दुःख-कष्टहरूको शिकार हुने बालबालिकाहरूको संख्या पनि कम हुन्छ।

२५. यो त अति खतरनाक विचार हो! यसबारे कुरा गर्दा तपाईंले सावधानी अपनाउनुपर्छ।

प्रजननविरोध कुनै खतरनाक विचार होइन—उल्टो यसले त मान्छेहरूलाई खतरनाक कुराहरूको सामना गर्नुपर्ने नयाँ जीवहरू जन्माउनबाट रोक्छ! आखिर, यो संसारका दुःख र बुराईहरू कोही मानिस यो संसारमा आएपछि मात्र भोग्न बाध्य हुन्छ। त्यसैगरी, तीमध्ये धेरैजसो पापकर्महरूलाई निरन्तरता दिने काम पनि यही अस्तित्वमा रहेका मानिसहरूले नै गर्छन्—र दुर्भाग्यवश, धेरैले त्यसो गरिरहेका पनि छन्। यसको विपरीत, सन्तानमुखी मान्यताले यस्तो संसारमा नयाँ जीवहरू जन्माउनुलाई सामान्यीकरण गर्छ र मानिसहरूलाई त्यसका लागि प्रोत्साहित गर्छ।

यद्यपि, करुणामा आधारित जुनसुकै दर्शन वा विचारधाराको पनि दुरुपयोग हुन सक्छ। इतिहासले हामीलाई देखाएको छ कि, असल मनसाय भएका र कुत्सित उद्देश्य बोकेका दुवै किसिमका मानिसहरूले कुनै परोपकारी दर्शनको नाममा काम गरिरहेको दाबी गर्दै ठूलो अनर्थ वा हानि गरेका छन्। प्रजननविरोध पनि यसको अपवाद होइन। यसलाई तोडमोड गरेर कुनै हानिकारक कार्यको बहाना बनाइन सक्छ, तर त्यस्ता क्रियाकलापहरूले दर्शनभन्दा पनि त्यो कार्य गर्ने व्यक्तिको चरित्र र नियतबारे धेरै कुरा बताउँछन्।

२६. मानिसहरूले सिर्जना गरेका कला र सौन्दर्यको के हुन्छ नि? ती त सबै हराएर जानेछन्!

मानिसहरूले विस्मयकारी अनेकौँ कुराहरूको सिर्जना गरेका छन्: साहित्य, कला, समुदाय, संस्कृति, परम्परा र अझ धेरै। तर यी सबै कुराहरूको मूल्य वा महत्त्व तब मात्र छ जब हामी यिनको कदर गर्नका लागि यहाँ छौँ—अर्थात् यी कसै न कसैका लागि मूल्यवान् छन्। हामी यिनका ध्वनि, स्वाद, स्पर्श र दृश्यहरूको आनन्द लिन्छौँ—र जबसम्म हामी यहाँ छौँ, यी अनुभवहरूलाई खुसीका साथ अँगाल्नु पनि पर्छ। तर यदि मानवजातिले प्रजनन गर्न छाड्यो र बिस्तारै अस्तित्व समाप्त भयो भने पनि यी कुराहरूको अनुपस्थिति वा अभाव हुनु आफैँमा कुनै नराम्रो कुरा हुनेछैन। किनभने त्यो अभावले कसैलाई दुःखी वा वञ्चित बनाओस् भन्नका लागि त्यहाँ कोही बाँकी नै रहनेछैन।

यसलाई अर्कै तरिकाले हेरौँ: एक हजार वर्षअघि हामीमध्ये कोही पनि अस्तित्वमा थिएनौँ, र हाम्रो त्यो गैर-अस्तित्व ले हामीलाई कुनै पनि किसिमको हानि वा वञ्चित गरेको थिएन। अहिले आएर हामीलाई त्यो विगतको समयको साक्षी बन्न पाएको भए हुन्थ्यो भन्ने चाहना वा तिर्सना जाग्न सक्छ, तर त्यस्ता अनुभूतिहरू पनि हामी आज अस्तित्वमा छौँ र ती कुराहरूबारे थाहा भएकोले मात्र जागेका हुन्। अस्तित्व नै नरहेपछि, कुनै कुराको क्षति वा अभाव महसुस गर्ने कुनै ‘पात्र' वा चेतना नै हुँदैन।

हाम्रा उपलब्धिहरूको प्रशंसा गर्दै गर्दा, मानिसहरूले एकापसमा र अन्य प्राणीहरूमाथि पुर्‍याएको अपार क्षति र क्रूरतालाई पनि हामीले स्वीकार गर्नै पर्छ। हरेक ग्यास च्याम्बर, हरेक बम, हरेक गोली, हरेक बधशाला, हरेक दास बोक्ने जहाज... यी सबै क्रूरताहरू मानिसकै कारण अस्तित्वमा आएका हुन्। सुन्दरता र कलालाई निरन्तरता दिनुभन्दा पनि यस्ता भयानक अपराध र अत्याचारहरू कहिल्यै अस्तित्वमै नआउनुन् भन्ने कुरा सुनिश्चित गर्नु धेरै बढी महत्त्वपूर्ण देखिन्छ।

२७. तिमी त बच्चा जन्माउनका लागि जोडी फेला पार्न सक्ने मानिसहरूसँग डाह गरिरहेका मात्रै हौ!

यदि तपाईं पर्याप्त आँटिलो हुनुहुन्छ भने, यसो भनेर जवाफ दिने प्रयास गर्नुहोस्: 'साँच्चै? मलाई त लाग्या थियो हामी दुईबिच कुरा मिलिरहेको छ!' यसले सम्भावित रूपमा कुराकानीलाई बिग्रनबाट जोगाउन सक्छ!

ठट्टालाई एकातिर पन्छाउने हो भने, यो आपत्ति केवल एउटा व्यक्तिगत प्रहार मात्र हो। यो प्रजनन-विरोधीको वास्तविक तर्कसँग जुध्नुको सट्टा उसलाई जिस्क्याउने वा उसको तर्कलाई अमान्य ठहराउने एउटा प्रयास हो। अरू मानिसहरू जस्तै प्रजनन-विरोधीहरू पनि फरक-फरक हुन्छन्—कोही सम्बन्धमा एकदमै खुसी छन्, कोही छैनन्, र कोही त बस पार्टनर वा जोडी नै नबनाउन रुचाउँछन्। कसैको प्रेम जीवन वा रोमान्टिक सफलताले प्रजनन-विरोध अडानको वैधतासँग कुनै सम्बन्ध राख्दैन।

यस्तो प्रसङ्गबाट अघि बढ्ने सबैभन्दा उत्तम उपाय ठट्टा वा व्यङ्ग्य हुन सक्छ। जिस्कँदै 'अनि, तपाईं प्रस्ताव राख्दै हुनुहुन्छ कि क्या हो?' भन्न सकिन्छ वा अघिकै जस्तै कुनै ठट्टा गर्न सकिन्छ। अलिकति हाँसेर यसलाई टार्नुहोस् र त्यसपछि अझ फलदायी र तर्कसङ्गत विषयतर्फ कुराकानीलाई मोड्नुहोस्।

२८. के तपाईंलाई बच्चाहरू प्यारा लाग्दैनन्? तिनीहरू त अति नै मनमोहक हुन्छन् नि!

बच्चाहरू असाध्यै प्यारा हुन सक्छन्। तर कोही बच्चा आफ्नो शैशवकालमा प्यारो हुन्छ, उसले हामीलाई हँसाउँछ र भित्रैदेखि न्यानोपन महसुस गराउँछ भन्ने मात्रैमा हामीले उनीहरूलाई वस्तुकरण गर्न र एउटा सजावटको सामानजस्तो व्यवहार गर्न मिल्दैन। नयाँ मानिस सिर्जना गर्नु भनेको अत्यन्तै गम्भीर विषय हो। बच्चाको त्यो प्यारापनले हामीलाई प्रजननबारेको गम्भीर र इमानदार नैतिक छलफलबाट विचलित गर्नु हुँदैन।

यसबाहेक, यो कुरा पनि मननयोग्य छ कि कसैले नैतिक रूपमा प्रजनन विरोध गर्दछ भन्दैमा उसलाई बच्चाहरू प्यारा लाग्नै सक्दैनन् वा उसले बालबालिकाको संगतको आनन्द लिनै सक्दैन भन्ने होइन। यी दुई कुराहरू एक-अर्काका विरोधी होइनन्।

२९. तिमी त बच्चाहरूलाई घृणा पो गर्छौ त!

प्रजननप्रति असहमति राख्नु वा विरोध गर्नुको अर्थ बच्चाहरूलाई घृणा गर्नु होइन। केही प्रजनन-विरोधीहरूलाई बच्चाहरू मन नपर्न पनि सक्छ, तर यो कुरा प्रजनन-विरोध दर्शनसँग कुनै सरोकार नराख्ने एउटा छुट्टै पाटो हो। वास्तवमा भन्नुपर्दा, बच्चाहरूप्रतिको घृणाभाव त प्रजनन-विरोधको मूल मान्यतासँगै मेल खाँदैन।

जुन बालबालिकाको बारेमा प्रजनन-विरोधीहरू चिन्तित हुन्छन्, उनीहरू नै त हुन् जो यसको केन्द्रबिन्दुमा छन्। उनीहरू नै ती हुन् जो आफ्नो कुनै पनि छनौटबिना दुःख र कष्टले भरिएको संसारमा ल्याइन्छन्। यदि प्रजनन-विरोधीहरूले बच्चाहरूलाई घृणा नै गर्थे भने, के उनीहरूको पीडाप्रति अझ बढी उदासीन हुनुपर्ने होइन र? तर वास्तविकतामा, प्रजनन-विरोधीहरू बालबालिकाले भोग्नुपर्ने कष्टहरूप्रति गहिरो रूपमा संवेदनशील र चिन्तित हुन्छन्।

तुलनात्मक रूपमा हेर्दा, प्रजनन-विरोधीहरूले बालबालिकाको भविष्य र भाग्यबारे जति गम्भीरतापूर्वक सोचेका हुन्छन्, प्रायः भावी आमाबाबुहरूले भने आफ्ना सन्तानले यस संसारमा भोग्नुपर्ने दुःखहरूप्रति त्यस्तो गम्भीरता कहिल्यै राखेका हुँदैनन्।

३०. यदि तिमीहरूले बच्चा जन्माएनौं भने, सबै प्रजनन-विरोधीहरू मरेर गएपछि यो विचार पनि आफैँ हराएर जानेछ।

नयाँ मानिस सिर्जना गर्नु नैतिक रूपमा गलत हो भन्ने मान्यताका समर्थक बढाउनका लागि नै नयाँ मानिस जन्माउनु आफैँमा विरोधाभासपूर्ण छ भन्ने तथ्यलाई एकातिर राख्ने हो भने पनि, यो आपत्ति एउटा गलत मान्यतामा आधारित छ। त्यो के भने—नैतिक मान्यताहरू केवल प्रजननको माध्यमबाट मात्रै जोगाउन वा फैलाउन सकिन्छ, वा ती विचारलाई टिकाइराख्न अन्य उपायहरू अपर्याप्त हुन्छन्। यो कुरा पूर्णतया गलत हो।

पहिलो कुरा, प्रजननविरोध र अस्तित्वमा आउनु हानिकारक छ भन्ने विचार—हजारौँ वर्षदेखि अस्तित्वमा छ। यसको निरन्तरता समर्थकहरूले आफ्ना जैविक सन्तानलाई यो विचार हस्तान्तरण गरेर भएको होइन। वास्तवमा, आजका निकै थोरै (यदि कोही छन् भने पनि) प्रजनन-विरोधीहरूले आफ्ना आमाबाबुको सोचका कारण यो विचार अपनाएका हुन्। र, यदि त्यो कुनै महत्त्वपूर्ण कारक नै हुन्थ्यो भने पनि, प्रजनन-विरोधीहरूले सन्तान धर्मपुत्र/धर्मपुत्रीको रूपमा अपनाउन सक्थे।

दोस्रो कुरा, नैतिक मान्यताहरू धेरै तरिकाबाट स्थापित र निर्माण हुन्छन्: शिक्षा, संवाद, साहित्य र अभियान, उदाहरणका लागि केही मात्र हुन्। अहिले इन्टरनेटले विचारहरूको आदानप्रदानलाई धेरै सहज बनाएको अवस्थामा, कुनै विशिष्ट नैतिक मान्यता प्रवर्द्धन गर्नका लागि बच्चा हुर्काउनु नै विशेष रूपमा प्रभावकारी उपाय हो भन्ने कुरा स्पष्ट छैन।

अन्त्यमा, यदि प्रजननले कसै गरी प्रजनन-विरोधीहरूको सङ्ख्या बढाउन सक्थ्यो नै भने पनि—जो आफैँमा विरोधाभासपूर्ण छ—यसले नयाँ बच्चा जन्माउने कार्यलाई सही ठहराउन सक्दैन। प्रजनन-विरोधीहरू यो कार्यलाई गहिरो रूपमा अनैतिक ठान्छन्। प्रजनन-विरोधीहरूलाई आफ्नो सिद्धान्त फैलाउनका लागि सन्तान जन्माउन भन्नु भनेको शान्तिवादीहरूलाई शान्तिका मूल्यहरू फैलाउनका लागि युद्ध र आक्रमण गर्न भन्नुजस्तै हो।

३१. कसैलाई सृष्टि गर्नका लागि तपाईंलाई उनीहरूको सहमति चाहिँदैन, किनकि अनुमति लिनका लागि त्यहाँ कोही अस्तित्वमै हुँदैन!

यो आपत्तिले अप्रत्यक्ष रूपमा यो तर्क दिन्छ कि कसैको सहमतिबिना नै उसलाई प्रत्यक्ष, पूर्वअनुमानित र गम्भीर असर पार्ने (नकारात्मक परिणामसहितका) कामहरू गर्नु ठीक हो। अझ नराम्रो कुरा त के भने, यदि सहमति लिनै सकिँदैन भने, त्यसका लागि नैतिक आवश्यकता नै स्वतः समाप्त हुन्छ भनिन्छ।

जीवनका अन्य पक्षहरूमा हामी नैतिक निर्णय लिँदा सहमतिलाई जति गम्भीर रूपमा लिन्छौं, त्यसलाई हेर्दा यो आपत्ति अचम्मको लाग्छ। सहमतिबिना गरिएको यौनसम्पर्क बलात्कार हो; अनुमतिबिना गरिएको काम दासता हो। यदि तपाईंले कसैको अनुमति लिन सक्नुहुन्न भने, यसको मतलब यो होइन कि तपाईंले आफूलाई मन लागे जस्तै गर्ने नैतिक छुट पाउनुहुन्छ। कल्पना गर्नुहोस्—कुनै पार्टीमा कोही मानिस बेहोस भएर लडिरहेको छ—के उसले सहमति दिन असमर्थ छ भन्दैमा उसमाथि यौनजन्य क्रियाकलाप गर्नु स्वीकार्य हुन्छ? हुँदैन, र यसो गर्नु घृणास्पद अपराध हो।

केही यस्ता अपवादस्वरूप परिस्थितिहरू हुन्छन् जहाँ सहमति लिन नपर्ने वा छुट दिइने हुन सक्छ, तर ती सामान्यतया त्यस्ता कार्यहरूसँग सम्बन्धित हुन्छन् जसले सम्बन्धित व्यक्तिलाई आइपर्ने ठूलो हानिबाट बचाउँछ (र सामान्यतया, यो तब मात्र हुन्छ जब उनीहरू आफ्ना लागि आफैँ निर्णय गर्न असमर्थ हुन्छन्)। तर प्रजनन यस्तो अवस्था होइन—त्यहाँ यस्तो कोही पनि हुँदैन जो अझ ठूलो हानिको जोखिममा परेको होस्।

३२. सन्तान नजन्माएर र कसैले बाँच्न पाउने कि नपाउने भन्ने निर्णय गरेर तिमीहरू भगवान बन्ने प्रयास गर्दैछौ।

‘भगवानको भूमिका खेल्नु' को अर्थ सामान्यतया अरूको जीवन र मामिलाहरूमा आफूले गर्न नहुने हदसम्मको शक्ति, नियन्त्रण वा प्रभाव प्रयोग गर्नु हो। जब  प्रजनन-विरोधीहरू माथि यो आरोप लगाइन्छ, तब यसको जवाफमा दुईवटा मुख्य कुराहरू भन्न सकिन्छ।

पहिलो, यो आपत्तिले अप्रत्यक्ष रूपमा 'भगवानको भूमिका खेल्नु' अनुचित हो भन्ने सङ्केत गर्छ। पक्कै पनि, कहिलेकाहीँ अरूको मामिलामा हस्तक्षेप गर्नु अनुचित हुन्छ, तर यस्ता परिस्थितिहरू पनि हुन्छन् जहाँ हस्तक्षेप गर्नु सर्वथा उपयुक्त हुन्छ। उदाहरणका लागि, सडकमा लडिरहेको वा असहाय बनेको कुनै व्यक्तिलाई देखेपछि उसलाई सहयोग गर्नु। यसलाई पनि 'भगवानको भूमिका खेलेको' भन्न सकिन्छ, किनकि हामी आफूसँग प्रत्यक्ष सरोकार नभएको विषयमा हस्तक्षेप गर्दैछौँ। तर यो अरूको जीवनमा गरिएको अनुचित हस्तक्षेप होइन, बरु एउटा असल कार्य हो। कुनै पनि परिस्थितिमा 'भगवानको भूमिका खेल्नु' सकारात्मक हो कि नकारात्मक भनेर छुट्ट्याउनका लागि हामीले त्यस घटनाका विशिष्ट तथ्य र विवरणहरूको मूल्याङ्कन गर्नुपर्छ। हामी केवल 'भगवानको भूमिका खेलेको' भनेर मात्र कुनै कुरालाई खारेज गर्न सक्दैनौँ।

दोस्रो, वास्तवमा प्रजनन गर्नु नै 'भगवानको भूमिका अनुचित रूपमा खेल्नु' हो। कसैलाई नजन्माउनु भनेको पक्कै पनि त्यो व्यक्तिलाई नल्याउने निर्णय गर्नु हो, तर यसलाई नकारात्मक अर्थमा 'भगवानको भूमिका खेलेको' भन्न मिल्दैन; किनकि अस्तित्वमा नआएकै कारण हानि वा पीडा भोग्नका लागि त्यहाँ कोही व्यक्ति नै हुँदैन। अर्कोतर्फ, प्रजननले भने अरू कसैको तर्फबाट यो निर्णय गरिदिन्छ कि उसले अस्तित्वमा आएर दुःख-कष्ट भोग्नै पर्छ र चरम पीडाको जोखिममा पर्नै पर्छ। वास्तविक अर्थमा भगवानको भूमिका खेल्नु त त्यो हो।

३३. तिमीहरूले सबै मानिसहरूलाई सन्तान उत्पादन गर्नबाट रोक्न कहिल्यै सक्ने छैनौ।

पक्कै पनि, प्रजनन-विरोधीहरूले संसारका अन्तिम मानिसलाई सम्म पनि प्रजनन नगर्नका लागि मनाउन सक्ने सम्भावना छैन; तर यसको अर्थ यो होइन कि प्रजनन-विरोधी तर्कहरूको सामना गर्ने मानिसहरूले तिनलाई त्यसै खारेज गर्न सक्छन्। तर्कहरूको मूल्याङ्कन तिनको लोकप्रियताका आधारमा होइन, तिनको वस्तुगत सत्यता र वजनको आधारमा गरिनुपर्छ। न त यसले कसैलाई आफैँ सन्तान जन्माएर यो समस्यामा थप योगदान दिने छुट नै दिन्छ।

धेरैजसो नैतिक विषयहरू 'या त पूरै या त शून्य' हुने खालका हुँदैनन्, र प्रजनन पनि तिनैमध्ये एक हो। यसलाई पूर्ण रूपमा रोक्न सकिँदैन भन्दैमा कम्तीमा यसका केही घटनाहरूलाई त रोक्न वा टाल्न सकिन्छ नि। कल्पना गर्नुहोस्, यदि कसैले 'हामीले संसारबाट भोकमरी कहिल्यै पूरै हटाउन सक्दैनौँ, त्यसैले भोकमरी घटाउने प्रयास नै गर्नु हुँदैन' भनेर तर्क गर्यो भने, त्यो कति हास्यास्पद सुनिनेछ। वास्तविक कुरा के हो भने, हामी केही भोकमरी घटाउन सक्छौँ (जसरी हामी केही प्रजनन रोक्न सक्छौँ) र त्यो राम्रो कुरा हो। हामीले पूर्णताको खोजीमा असलको बाटो नै बन्द गर्नु हुँदैन।

३४. धर्मपुत्र/धर्मपुत्री अपनाउनु सबैको बसको कुरा होइन—यो प्रक्रिया निकै खर्चिलो छ!

यो आपत्ति दुईवटा मात्र विकल्प छन् भन्ने एउटा गलत धारणामा आधारित छ। यसले यस्तो सङ्केत गर्छ कि धर्मपुत्र/धर्मपुत्री अपनाउनु महँगो भएको हुनाले मानिसलाई आफैँ बच्चा जन्माउनु जायज ठहर्छ; तर यहाँ तेस्रो विकल्प पनि छ: उनीहरूले बच्चा नजन्माउन र हुर्काउन छोड्न पनि सक्छन्।

यद्यपि, यदि कसैमा बच्चा हुर्काउने तीव्र इच्छा छ भने पनि, त्यो इच्छाले अन्य सबै कुराहरूलाई पछाडि पार्न सक्दैन। प्रजनन गर्नका लागि बलियो नैतिक आधार हुनैपर्छ, र यदि त्यस्तो कुनै आधार छैन भने (र उनीहरू धर्मपुत्र/धर्मपुत्री अपनाउन पनि चाहँदैनन् भने) उनीहरूले प्रजननबाट टाढै बस्नुपर्छ र उनीहरूको त्यो इच्छा अपूरै रहन दिनुपर्छ। कहिलेकाहीँ नैतिकताले हामीबाट जो अपेक्षा गर्छ, त्यसको पालना गर्नका लागि हामीले आफ्ना चाहनाहरूलाई त्याग्नुपर्ने हुन्छ। हाम्रा चाहनाहरू पूरा गर्नु मात्रै सधैँ सबैभन्दा महत्त्वपूर्ण कुरा होइन। हाम्रा कार्यहरूको परिणाम अरूमाथि—अहिले अस्तित्वमा रहेका मानिसहरू र भविष्यमा आउने दुवैमाथि—पर्ने हुनाले हामीले यसलाई ध्यान दिनैपर्छ।

तथापि, हालको यो विषयलाई नै हेरौँ; बच्चा धर्मपुत्र/धर्मपुत्री अपनाउनु र आफैँ जन्माउनुमध्ये कुन महँगो पर्छ भन्ने कुरा विभिन्न कुराहरूमा भर पर्छ: अपनाइएको कानुनी प्रक्रिया, व्यक्तिसँग उपलब्ध स्रोतसाधन, उसको जीवनको स्थिति, र उसले एक्लै वा जोडीसँग मिलेर बच्चा हुर्काउँदै छ भन्नेजस्ता अनेकौँ कारकहरू। धर्मपुत्र/धर्मपुत्री अपनाउदा विभिन्न कानुनी तथा प्रशासनिक शुल्कजस्ता लागतहरू हुन्छन्; साथै योग्यता तय गर्ने परीक्षण जस्ता गैर-आर्थिक लागतहरू पनि व्यहोर्नुपर्ने हुन्छ। तर बच्चा जन्माउँदा पनि आफ्नै किसिमका खर्चहरू हुन्छन् जस्तै—गर्भावस्था र प्रसव वेदनाका बेला हुने अस्पताल तथा चिकित्सकका शुल्कहरू, र ती शारीरिक प्रक्रियाहरूबाट गुज्रिँदा स्वास्थ्यमा पर्ने असरहरू। जे होस्, धर्मपुत्र/धर्मपुत्री अपनाउनु नयाँ बच्चा जन्माउनु भन्दा महँगो नै पर्छ भन्ने कुरा स्वतः स्पष्ट छैन।

३५. तिमीहरू किन अरूलाई उपदेश दिंदै हिँड्छौ? आफ्नै काममा ध्यान दिए भइहाल्यो नि!

मानिसहरू विभिन्न किसिमका नैतिक विषयहरूमा आवाज उठाउँछन्, प्रचार गर्छन् र यो कुनै अचम्मको कुरा होइन। कुनै कुरालाई नैतिक रूपमा गलत भनेर ठम्याएपछि, व्यक्तिहरू र संस्थाहरूलाई प्रभावित गरेर वा अन्य कुनै उपायमार्फत त्यसलाई रोक्नका लागि मानिसहरू प्रेरित हुनु स्वाभाविकै हो। वास्तवमा, नागरिकहरूले यस्तो गर्नु एउटा खुला र उदार समाजको लक्षण हो।

वकालत गर्नु तब मात्र समस्या बन्छ जब अर्को व्यक्ति त्यस वकालतका मूल्यमान्यताहरूसँग सहमत हुँदैन; तर त्यस्तो अवस्थामा त्यो केवल दुईजना व्यक्तिबीचको असहमति मात्र हो। कसैको मूल्यमान्यता आफूलाई मन नपर्दैमा हामीले तिनका कुरा नसुनीकन ती व्यक्ति वा उनका तर्कहरूलाई त्यसै खारेज गरिहाल्नु हुँदैन—किनकि हामी आफैँले कुनै महत्त्वपूर्ण विषयमा कुरा उठाउँदा अरूले हामीलाई त्यसरी नै बेवास्ता गरेको चाहँदैनौँ।

प्रजनन-विरोध पनि यसमा कुनै भिन्न छैन। केही मानिसहरू यसको वकालत गर्न चाहन्छन्, त केही यसमा असहमति जनाउँछन्। यो असहमतिलाई अन्य कुनै पनि नैतिक विषयमा झैँ सहज ढिनले लिइनुपर्छ; यसलाई कुनै कुरा खारेज गर्ने बहाना बनाइनु हुँदैन।

यद्यपि, यदि कसैले यस्तो आपत्ति जनाउँछ भने, उनीहरू आफ्नो मन बदल्न तयार नभएका हुन सक्छन्। त्यसैले, पहिलो कुरा त यस्तो अवस्थासम्म पुग्नै नदिनु राम्रो हुन्छ, र प्रजनन-विरोधको वकालत गर्दा यस्तो तरिका अपनाउनु पर्छ जुन सबैका लागि पहुँचयोग्य, सौम्य र संवादमुखी होस्।

३६. मानवजाति लोप नै भए पनि, ब्रह्माण्डको अर्कै ठाउँमा चेतनायुक्त जीवन उत्पन्न हुनेछ।

यो सम्भव छ कि ब्रह्माण्डको अर्कै ठाउँमा चेतनायुक्त जीवन उत्पन्न हुन सक्छ (शायद भइसकेको पनि होला), तर मानिसको लोप हुनुले त्यस्तो जीवन उत्पन्न हुने वा नहुने कुरामा केही असर पार्छ कि पार्दैन भन्ने स्पष्ट छैन। तैपनि, यो आपत्तिलाई विचार गरौँ।

यस आपत्तिका दुईवटा सम्भावित व्याख्याहरू हुन सक्छन्: ब्रह्माण्डको अर्कै ठाउँमा चेतनायुक्त जीवन उत्पन्न हुन सक्ने भएकाले आपत्ति जनाउने व्यक्तिलाई बच्चा जन्माउनु नैतिक रूपमा जायज लाग्छ, किनकि १) यसले पृथ्वीमा नयाँ जीवन सृष्टि नगर्ने कुरालाई निरर्थक वा औचित्यहीन बनाइदिन्छ, वा २) मानवजातिले त्यो चेतनायुक्त जीवनको दुःख घटाउन वा निवारण गर्नका लागि आफ्नो प्रजातिलाई निरन्तरता दिइरहनुपर्छ।

पहिलो कुराको हकमा भन्नुपर्दा, अर्कै समय वा ठाउँमा दुःखको उपस्थिति हुनुले कसैलाई पनि यहाँ र अहिले कुनै व्यक्तिलाई दुःख भोग्न बाध्य पार्ने नैतिक छुट दिँदैन।

दोस्रो कुराको हकमा, परग्रहका जीवहरूलाई खोज्न र उनीहरूका दुःख निवारण गर्नका लागि मानिसहरूले निरन्तर सन्तान जन्माइरहनुपर्छ भन्ने विचार अत्यन्तै काल्पनिक र अव्यावहारिक देखिन्छ। यसका लागि मानिसहरूमाथि प्रत्यक्ष र गम्भीर हानि (उनीहरूलाई जन्माएर) थोपर्नुपर्ने हुन्छ, त्यो पनि यो आशामा कि कुनै दिन मानवजातिले परग्रहका जीवहरू पत्ता लगाउनेछ, उनीहरूसम्म पुग्न अभूतपूर्व विश्वव्यापी एकता कायम गर्नेछ र त्यसपछि उनीहरूको दुःख प्रभावकारी रूपमा निवारण गर्नेछ। नयाँ मानिस जन्माउनका लागि यो अत्यन्तै काल्पनिक र अपुष्ट तर्क हो। यदि यो आपत्ति उठाउने व्यक्तिलाई यो बलियो आधार लाग्छ भने, उनले आफूलाई सोध्नुपर्छ कि—के उनी यही लक्ष्यका लागि अहिले अस्तित्वमा रहेका मानिसहरूमाथि पनि उस्तै किसिमको हानि थोपर्न तयार हुनेछन्? यदि उत्तर 'हुँदिनँ' भन्ने आउँछ भने, उनीहरूले (यदि जन्माउने निर्णय गरे भने) भविष्यमा अस्तित्वमा आउने मानिसहरूमाथि किन त्यो हानि थोपर्ने?

३७. जीवनमा सुख र दुःख दुवै हुनैपर्छ भन्ने मान्यता छ। दुःखबिना तिमीले सुखको आनन्द लिन सक्दैनौ!

यो आपत्तिले अप्रत्यक्ष रूपमा यो तर्क दिन्छ कि कसैलाई जीवनका दुःखहरू भोग्न बाध्य पार्नु जायज छ, किनकि ती सुखहरू अनुभव गर्ने त्यो नै एकमात्र उपाय हो। यसको जवाफमा कम्तीमा दुईवटा कुराहरू भन्न सकिन्छ।

पहिलो कुरा, यद्यपि अस्तित्वमा रहेको कुनै व्यक्ति राम्रा कुराहरूको अनुपस्थितिले वञ्चित हुन सक्छ, तर कहिल्यै पनि अस्तित्वमा नआएको व्यक्ति ती कुराको अनुपस्थितिले वञ्चित हुँदैन—किनकि वञ्चित हुनु वा महसुस गर्नका लागि त त्यहाँ उनीहरूको अस्तित्व नै हुँदैन। यी सुखहरूको अनुपस्थिति कुनै हानि होइन। फलस्वरूप, नयाँ मानिस सिर्जना गर्नु भनेको उसलाई जीवनका दुःखहरू (जो नराम्रा हुन्) को सामुन्ने उभ्याउनु हो, त्यो पनि यस्ता सुखहरूको बदलामा जसलाई उसले कहिल्यै गुमाएको वा महसुस नै गरेको हुँदैनथ्यो।

दोस्रो कुरा, यदि सुखहरूलाई नै कसैलाई जन्माउने आधार मानिहालियो भने पनि, ती सुखहरूले जीवनमा आइपर्ने दुःखहरूलाई जायज ठहराउन पर्याप्त आधार हुन् भनेर अझै पनि स्पष्ट भइसकेको छैन। प्रजनन गर्ने कुनै पनि घटनामा, हामी यो कुरा पर्याप्त रूपमा अनुमान गर्न सक्दैनौँ कि जन्मने व्यक्तिको जीवनमा सुख र दुःखको संतुलन कस्तो हुनेछ। त्यो संतुलन व्यक्तिगत निर्णयहरू, अरूका निर्णयहरू, प्राकृतिक प्रक्रियाहरू जस्ता अनगिन्ती अप्रत्याशित कारकहरूद्वारा प्रभावित हुन्छ। यदि हामीले त्यस्तो भविष्यवाणी गर्न सक्थ्यौँ भने पनि, हामी यो जान्न सक्दैनौँ कि भविष्यको त्यो व्यक्तिले आफ्नो अस्तित्वमा आउनुलाई आफूले भोगेको दुःखको साटोमा 'मूल्यवान' थियो भनेर ठान्‍नेछ वा छैन। हामीले निश्चित रूपमा जान्न सक्ने एउटै कुरा के हो भने, उसले कुनै न कुनै हदसम्म पीडा भोग्नेछ, र उसले मर्नै पर्नेछ।

यही कारणले गर्दा प्रजननलाई भविष्यका आफ्नै सन्तानको टाउकोमा पूर्ण रूपमा लोड गरिएको (बन्दुकको गोली भरिएको) बन्दुक राखेर 'रुसियन रुलेट' खेल खेल्नु जस्तै हो भनी तुलना गरिएको छ।

३८. आफ्नो जीवन जिउन योग्य छ कि छैन भनेर निर्णय गर्ने अधिकार प्रत्येक व्यक्तिको आफ्नै हो, तपाईंले अरूको बारेमा यो जीवन अर्थपूर्ण छैन भनेर निर्णय गरिदिन सक्नुहुन्न।

जीवन जिउन योग्य छ भन्ने जस्तो अस्पष्ट वाक्यांश प्रयोग गरेर यो आपत्तिले जीवनको सुरुआत गर्नु र जीवनलाई निरन्तरता दिनु बीचको अति महत्त्वपूर्ण भिन्नतालाई छुट्याउन असफल हुन्छ। प्रजनन-विरोधको सम्बन्ध नयाँ जीवनको सुरुआतसँग छ, जीवनलाई निरन्तरता दिने वा नदिने कुरासँग होइन। एकपटक कोही अस्तित्वमा आइसकेपछि, उसको जीवन उसैको हो; आफ्नो जीवनलाई निरन्तरता दिनु उचित छ कि छैन भनेर निर्णय गर्ने अधिकार पनि उसैको हुनुपर्छ। तर, जीवनको सुरुआत गर्ने निर्णय भने पूर्ण रूपमा भिन्न विषय हो।

कसैले पनि अस्तित्वमा आउने वा नआउने निर्णय आफैँ गर्न सक्दैन, हामी त केवल अस्तित्वलाई निरन्तरता दिने वा नदिने भन्ने निर्णय मात्र गर्न सक्छौँ। यसले फेरि पनि यो आपत्तिमा रहेको अन्योलतालाई प्रस्ट पार्छ। यदि यो आपत्ति गर्ने व्यक्ति अरूको तर्फबाट निर्णय गरिदिने कुराको विरोध गर्छन् भने, वास्तवमा प्रजनन भनेको नै त्यही हो—जसले अर्काको तर्फबाट निर्णय गरिदिन्छ।

त्यसपछि, यो आपत्ति गर्ने व्यक्तिले यो अर्थमा जवाफ दिन सक्ला कि—सबै मानिसहरूलाई जन्माइनुपर्छ ताकि उनीहरूले पछि गएर आफ्नो अस्तित्वलाई निरन्तरता दिने वा नदिने भन्ने निर्णय आफैँ गर्न सकून्। तर यसमा पनि थुप्रै समस्याहरू छन्। पहिलो कुरा, यदि कोही कहिल्यै अस्तित्वमै आउँदैन भने उसलाई अस्तित्वबाट वञ्चित गरिएको हुँदैन, त्यसैले भावी आमाबाबुले सन्तान नजन्माउने निर्णय गर्दा त्यसलाई नराम्रो मान्न मिल्दैन। दोस्रो कुरा, एकपटक कोही अस्तित्वमा आइसकेपछि उसको अस्तित्व अन्त्य गर्ने एकमात्र उपाय आत्महत्या गर्नु हो—यो त कसैलाई अति नै भयानक अवस्थामा धकेल्नु हो।

३९. यदि हामीले प्रजनन गर्न छोड्यौँ भने, हामीलाई यहाँसम्म पुर्‍याउन हाम्रा पुर्खाहरूले गरेका त्यागहरूको कुनै अर्थ रहने छैन।

यो आपत्तिले हामीले हाम्रा पुर्खाहरू प्रति उत्तरदायी भएर सन्तान उत्पादनको क्रमलाई निरन्तरता दिनुपर्छ भन्ने तर्क गर्छ। चाहे आफैँ सन्तान जन्माएर होस् वा सामान्यतया समाजमा योगदान दिएर, हाम्रा पुर्खाहरूले आफ्नै जीवनमा विभिन्न त्यागहरू गरे ताकि हामी अस्तित्वमा आउन सकौं—र हामीले यो प्रजातिलाई निरन्तरता दिएर उनीहरूको सम्मान गर्नुपर्छ। यस सन्दर्भमा मुख्यतया दुई-तीनवटा कुराहरू भन्न सकिन्छ।

पहिलो कुरा, हाम्रा पुर्खाहरू मरिसकेका छन् (र अधिकांश त धेरै पहिले नै बितिसकेका छन्)। उनीहरू अब अस्तित्वमा छैनन् र हामी आफ्नो जीवन कसरी बिताउँछौं—हामीले सन्तान जन्माउँछौं कि जन्माउँदैनौं—भन्ने कुराले उनीहरूलाई कुनै फरक पार्दैन; जसरी हामीले इन्टरनेट चलाउँछौं कि चलाउँदैनौं वा हवाइजहाजमा उड्छौं कि उड्दैनौँ भन्ने कुरामा उनीहरूलाई कुनै चासो छैन। कसैले आफ्ना पुर्खाप्रतिको कर्तव्य वा दायित्व महसुस गर्छ भने पनि, त्यो भावना उनीहरूको वास्तविक हितमा आधारित हुँदैन—किनकि उनीहरूको अब कुनै हित वा चासो बाँकी छैन। र यदि उनीहरूको कुनै किसिमको चासो हुन्थ्यो नै भने पनि, प्रजननबाट सिर्जना हुने गम्भीर हानिका नैतिक चिन्ताहरूभन्दा पुर्खाप्रतिको त्यो मोह भारी पर्छ भन्नु स्पष्ट छैन।

दोस्रो कुरा, यो आपत्तिले हाम्रा पुर्खाहरूका कार्यहरूलाई एउटा महान् उपलब्धिको रूपमा हेर्छ। यद्यपि हाम्रा केही पुर्खाहरूले असाधारण काम गरेका हुन सक्छन् र त्यसका लागि उनीहरू सम्मानका हकदार छन्, तर बच्चा जन्माउने कार्य तीमध्ये पर्दैन। प्रजनन त सधैँ सामान्य रूपमा हुँदै आएको छ (र अहिले पनि भइरहेको छ) र यो भविष्यमा जन्मिने बच्चालाई पर्न सक्ने सम्भावित दुःखहरूप्रति धेरै गहिरो विचार नगरी गरिन्छ।

तेस्रो कुरा, हामीले इतिहासका क्रूरताहरूलाई बिर्सनु हुँदैन। इतिहासमा अर्बौं मानिसहरू यातना भोगेका छन्, दास बनाइएका छन् र क्रूरताका शिकार भएका छन्। प्रजननलाई हेर्ने दृष्टिकोण केवल नैतिक श्रद्धा मात्र हैन; यसलाई विगतका गल्तीहरूलाई निरन्तरता दिने र अनावश्यक पीडालाई लम्ब्याउने कार्यको रूपमा पनि हेर्न सकिन्छ।

हामीले हाम्रा पुर्खाहरूप्रतिको कुनै अस्पष्ट दायित्वको पछि लाग्नुभन्दा पनि हाम्रा कार्यहरूको प्रत्यक्ष प्रभाव जस-जसलाई पर्छ, ती जीवहरूको हितका आधारमा हाम्रा क्रियाकलापहरूको नैतिकता मूल्याङ्कन गर्नुपर्छ। मृत व्यक्तिहरू गइसकेका छन्। तर जीवितहरू—र भविष्यमा अस्तित्वमा आउनेहरू—नै ती हुन् जसले यसका परिणामहरू भोग्नुपर्छ।

४०. प्रजनन-विरोध त एउटा ट्रेन्ड मात्र हो, र अन्य सबै ट्रेन्डजस्तै यो पनि अन्त्य भएर जानेछ।

यो प्रजनन-विरोध विरुद्धको कुनै ठोस आपत्तिभन्दा पनि यसलाई हल्का रूपमा लिने वा खारेज गर्ने प्रयास मात्र हो। तैपनि, यसलाई सम्बोधन गर्नु महत्त्वपूर्ण छ।

कसै-कसैले यसप्रतिको हालैको बढ्दो चासोलाई प्रजनन-विरोध केवल एउटा अस्थायी ट्रेन्ड मात्र हो भन्ने प्रमाणका रूपमा हेर्न सक्छन्। तर यो एउटा भ्रम हो। प्रजननप्रतिको विरोध हजारौँ वर्षदेखि अस्तित्वमा रहँदै आएको छ। यसको एउटा प्रारम्भिक उदाहरण ९७३ देखि १०५७ ईस्वी संवत् सम्म बाँचेका एक प्रख्यात अरब कवि तथा दार्शनिक अबुल-अला अल-माअरी हुन्। उनका कृतिहरूमा प्रजननको प्रत्यक्ष आलोचनासहित बलिया प्रजनन-विरोध दार्शनिक विषयहरू पाइन्छन्। उनले आफ्ना लागि आफैँ लेखेको चिहानको शिलालेखमा यस्तो उल्लेख छ:

“यो मेरा पिताले ममाथि गरेको अपराध हो, जुन मैले चाहिँ कसैमाथि पनि गरिनँ।”

आधुनिक सञ्चार माध्यमहरूको सुविधाबिना नै प्रजनन-विरोध शताब्दियौंदेखि टिक्दै र जिउँदो रहँदै आएको छ। अब त हामीसँग इन्टरनेट छ, जसले गर्दा यी विचारहरूको फैलावट र पहुँच मात्र अझ बढी सहज र दृश्यमान बनेको छ।

४१. तर म त मेरा सन्तानहरू स्वर्गमा मसँगै होऊन् भन्ने चाहन्छु!

मृत्यूपछिको जीवन वा स्वर्गमा विश्वास गर्ने मानिसहरूले आफ्ना प्रियजनहरूसँग त्यो समय बिताउन चाहनु स्वाभाविक र बुझ्न सकिने कुरा हो। तर त्यसलाई सम्भव बनाउनका लागि, उनीहरूले पहिले ती प्रियजनहरूलाई सिर्जना (उत्पन्न) गर्नुपर्ने हुन्छ—जसले गर्दा उनीहरूलाई क्यान्सर, बलात्कार, सरुवा रोग, हत्या, यातना, डिमेन्सिया (स्मृतिह्रास), मस्तिष्कको क्षति, प्राकृतिक विपत्ति, दुर्घटना र अन्य कुनै पनि विभिषिकाहरूको जोखिममा पार्नुपर्ने हुन्छ। अनि त्योभन्दा पनि, उनीहरूको बच्चा अन्ततः नरकमा पुग्ने सम्भावना पनि रहन्छ। उनीहरूको बच्चा स्वर्गमै पुग्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन; उसले यस्तो जीवन बाँच्न सक्छ जसले उसलाई नरकको सजाय भोग्न बाध्य पारोस्।

के स्वर्गमा आफ्ना प्रियजनहरूसँग मृत्यूपछिको जीवन बिताउने व्यक्तिगत चाहना ती प्रियजनहरूमाथि यी सबै जोखिमहरू थोपर्नलाई जायज ठहराउन पर्याप्त छ? विशेष गरी तब, जब आपत्ति जनाउने व्यक्तिले कुनै बच्चालाई धर्मपुत्र/धर्मपुत्रीको रूपमा अपनाएर (आशा छ) मृत्यूपछिको जीवनमा उसैसँग स्वर्गमा समय बिताउन सक्छन्।

तर अझ मौलिक रूपमा भन्नुपर्दा, मृत्यूपछिको जीवन वा स्वर्गप्रतिको आफ्नो विश्वास प्रमाण र तर्कमा आधारित छ कि छैन भनेर आपत्ति जनाउने व्यक्तिले मनन गर्नु उचित हुन्छ। अरूका लागि यस्ता गम्भीर परिणामहरू ल्याउने निर्णयहरू गर्दा, हाम्रा ती सम्बन्धित मान्यताहरू बलियो आधारमा टिकेका छन् कि छैनन् भन्ने कुरामा हामी सुनिश्चित हुनुपर्छ। यदि आपत्ति जनाउने व्यक्तिको विश्वास नै गलत ठहरियो भने, उनीहरूका सन्तानले व्यहोर्नुपर्ने निश्चित र सम्भावित दुवै मूल्यहरू अत्यन्तै भारी र गम्भीर हुनेछन्।

४२. यदि हामीले प्रजनन गरेनौ भने, अन्य समूहहरूले गर्नेछन् र उनीहरूले कब्जा जमाउनेछन्!

यो आपत्ति प्रजननप्रतिको समर्थनमा होइन, बल्कि कुनै विशेष धार्मिक, जातीय, सामाजिक-आर्थिक वा अन्य कुनै समूहप्रति राखिने पूर्वाग्रहमा आधारित हुन्छ। यो दृष्टिकोणअनुसार, प्रजनन भनेको आफ्नो समूहको सङ्ख्या बढाएर अर्को समूहलाई 'जित्ने' माध्यम हो।

यस आपत्तिको जवाफ आंशिक रूपमा त्यहाँ कुन समूहको कुरा गरिएको छ भन्ने आधारमा निर्धारण हुन्छ। केही समूहगत पहिचानहरू जन्मजात वा अनैच्छिक हुन्छन् (जस्तै—कसैको जातीय समूह) र सदस्य सङ्ख्या बढाउने एकमात्र तरिका प्रजनन नै हो। यस्ता केसहरूमा, यस आपत्तिको जवाफ दिने सबैभन्दा राम्रो तरिका भनेको त्यो पूर्वाग्रहलाई सीधा सम्बोधन गर्नु हो—यो आशामा कि यसले प्रतिस्पर्धी समूहलाई 'पछाडि पार्न' वा सङ्ख्यामा जित्न चाहने व्यक्तिको सोचलाई बदल्न सकियोस्।

अन्य समूहगत पहिचानहरू भने स्वैच्छिक हुन्छन् (जस्तै—कसैको राजनीतिक आबद्धता), र यस्ता अवस्थामा आपत्ति जनाउने व्यक्तिलाई प्रजनन नगर्न मनाउनका लागि थप केही कुराहरू भन्न सकिन्छ:

१. कुनै समूहलाई बढाउनका लागि प्रजनन एकमात्र तरिका होइन, न त यो सबैभन्दा प्रभावकारी उपाय नै हो। बच्चा जन्माउनु र हुर्काउनु भनेको निकै धेरै स्रोतसाधन खर्च हुने काम हो। एउटा बच्चा हुर्काउनमा प्रयोग हुने समय र स्रोतलाई यदि पहिलेदेखि नै अस्तित्वमा रहेका मानिसहरूलाई आफ्नो समूहमा जोडिन प्रेरित गर्न प्रयोग गरियो भने त्यो धेरै किफायती र प्रभावकारी हुन सक्छ।

२. बच्चाले आफ्ना आमाबाबुको आदर्शसँग मेल खानेछ र उनीहरूकै समूहमा पहिचान बनाउनेछ भन्ने कुनै ग्यारेन्टी हुँदैन।

३. यद्यपि बच्चाहरूलाई वैचारिक औजारका रूपमा हेर्नु हुँदैन, तथापि यदि बच्चा हुर्काउँदा ऊ पनि आफ्ना आमाबाबुजस्तै उही समूहमा सामेल हुन सक्छ भन्ने लाग्यो भने (र आपत्ति जनाउने व्यक्तिले बच्चाहरूलाई आफ्ना स्वार्थपूर्तिको माध्यम बनाउने कुरामा आफ्नो विचार फेर्दैन भने), धर्मपुत्र/धर्मपुत्री अपनाउनु नै राम्रो विकल्प जस्तो देखिन्छ। यसले नयाँ जीवमाथि हानि थोपर्ने कार्यबाट बचाउँछ भने, पहिले नै अस्तित्वमा रहेको एउटा बच्चालाई मायालु घर र परिवार प्रदान गर्ने र ऊ प्रतिद्वन्द्वी समूहमा सामेल हुने सम्भावनालाई कम गर्ने फाइदा पनि पुर्‍याउँछ।

तपाईं जुनसुकै रूपमा यो आपत्ति आउन्, एउटा कुरामा भने जोडदार प्रतिवाद गरिनुपर्छ—त्यो हो मानिसहरूलाई आफ्ना राजनीतिक, धार्मिक वा अन्य स्वार्थहरू पूरा गर्ने केवल एउटा माध्यम ( साधन) का रूपमा प्रयोग गर्ने प्रवृत्ति।

४३. प्रजनन-विरोध महिलाविरोधी हो। कुनै महिलालाई उनको शरीरमाथि के गर्ने भनेर आदेश दिने आँट तपाईंले कसरी गर्नुभयो!

प्रजनन-विरोधलाई महिलाहरूले आफ्नो शरीरमाथि के गर्ने भन्ने कुरा सिकाउने वा आदेश दिने रूपमा बुझ्नु यसका तर्कहरूको गलत अर्थ लगाउनु हो। प्रजनन-विरोध भनेको नयाँ चेतनायुक्त जीवहरू सिर्जना गर्ने कार्यको विरोध गर्ने दृष्टिकोण हो, जसमा प्रजनन पनि पर्छ—र यो प्रक्रियामा पुरुष र महिला दुवै संलग्न हुन्छन्। यो महिलाहरूको शरीर नियन्त्रण गर्ने विषय होइन; यो त प्रजनन गर्ने विचार गरिरहेको जो कोहीलाई पनि त्यसो गर्नुको नैतिक औचित्य पेस गर्न चुनौती दिने विषय हो।

हो, शारीरिक स्वायत्तता अत्यन्त महत्वपूर्ण हुन्छ। कुनै पनि महिलाले—वा जुनसुकै व्यक्तिले—आफ्नो शरीरसँग के गर्छ भन्ने कुरा एक हदसम्म व्यक्तिगत रोजाइ हो। तर प्रजननमा एउटा सहमति नदिएको (दिन नसक्ने) तेस्रो पक्ष पनि जोडिएको हुन्छ: भविष्यको बच्चा। यही कुराले यसलाई केवल एउटा व्यक्तिगत रोजाइभन्दा माथि उठाउँछ। मानिसहरूलाई आफ्ना प्रजनन निर्णयहरू आफैं गर्न कानुनी अनुमति हुनुपर्ने भए तापनि, आफ्ना कार्यहरूप्रति नैतिक उत्तरदायित्वको एउटा आधारभूत स्तर भने हुनैपर्छ।

यो कुरा पनि उल्लेखनीय छ कि प्रजनन-विरोध स्वभावैले लैङ्गिक मुद्दा नभए पनि, सन्तान नगर्दा महिलाहरूले नै बढी फाइदा पाउन सक्छन्। गर्भावस्था र प्रसवसँगै निश्चित स्वास्थ्य जोखिमहरू जोडिएका हुन्छन्—जसमध्ये केही स्थायी

प्रकृतिका पनि हुन सक्छन्—र अधिकांश सन्दर्भमा बच्चा हुर्काउने भार पनि असमान रूपमा महिलाहरूप्रति नै पर्छ। प्रजनन नगर्ने रोजाइले यी कुराहरूबाट बचाउँछ। यसले थप महिला तथा बालिकाहरूलाई त्यस्तो संसारमा आउनबाट पनि रोक्छ जहाँ उनीहरूले अझै पनि विभेद र असमानता सामना गर्नुपर्छ। कुनै पनि महिलाले यी हानिहरूको सामना गर्नु पर्दैन भनेर सुनिश्चित गर्ने एकमात्र उपाय उनीहरूलाई पहिलो स्थानमै सृष्टि नगर्नु हो। यस अर्थमा, प्रजनन-विरोधले महिला र बालिकाहरूमाथिको विभेद कम गर्न मद्दत गर्न सक्छ।

४४. प्रजनन-विरोध त एउटा धर्म र सम्प्रदाय हो!

यो आपत्तिले प्रजनन-विरोधलाई यस्तो नाम दिएर बदनाम गर्ने प्रयास गर्छ जसलाई मानिसहरूले गम्भीरताका साथ नलिनु स्वाभाविक ठान्न सकून्। आपत्ति जनाउने व्यक्तिले सम्भवतः कुराकानीलाई बन्द गर्न र आफ्नो विश्वदृष्टिकोणमाथि प्रश्न उठ्नबाट बचाउनका लागि यस्तो गरिरहेको हुन्छ।

प्रजनन-विरोध कुनै धर्म वा सम्प्रदाय होइन। यो त एउटा दार्शनिक दृष्टिकोण हो: नयाँ चेतनायुक्त जीवहरू सिर्जना गर्नु नैतिक रूपमा गलत हो भन्ने मान्यता। के यो विचार साझा गर्ने कुनै समुदायले सम्प्रदाय जस्तो व्यवहार प्रदर्शन गर्न सक्छ? सिद्धान्ततः, गर्न सक्छ—तर यो कुरा जुनसुकै समुदायको हकमा पनि लागू हुन सक्छ। यस्तो दाबीलाई अर्थपूर्ण बनाउनका लागि, यो आपत्ति उठाउने व्यक्तिले विशेष व्यवहारहरूतर्फ औंल्याउनुपर्छ र प्रमाण प्रस्तुत गर्नुपर्छ। अन्यथा, यो आरोप केवल विषय मोड्ने प्रयास मात्र हुन जान्छ।

यदि प्रजनन-विरोध समुदायभित्रका केही व्यक्तिहरूले सम्प्रदाय जस्तो प्रवृत्ति देखाए पनि, यो ती व्यक्तिहरूको समस्या हो—दर्शन आफैंको होइन। र यदि आपत्ति जनाउने व्यक्तिले यी दुई कुरालाई छुट्याउन सकेको छैन भने, यो कुराकानी निष्कर्षविहीन मोडमा पुग्न सक्छ; त्यसैले कुराकानीलाई पुनः दार्शनिक विषयतर्फ फर्काउनु नै राम्रो हुन्छ।

४५. यदि मैले सन्तान जन्माइन भने, म मेरो वंश वा विरासत कसरी छोड्ने त?

विरासत छोड्ने चाहना बुझ्न सकिने कुरा हो। तर त्यसो गर्नका लागि नयाँ मानिस सिर्जना गर्नु भने जायज होइन। यो मूल रूपमा एउटा स्वार्थी कार्य हो, जुन अचम्मको कुरा हो किनभने कमै मानिसहरू मात्र त्यसरी सम्झिन चाहन्छन्।

जब कोही आमाबाबुले आफ्नो विरासतको रूपमा सेवा गर्नका लागि बच्चा जन्माउँछन्, तब उनीहरूले त्यो बच्चालाई अस्तित्वका दुःखहरूको जोखिममा मात्र पार्दैनन्, बल्कि उनीहरूमाथि आमाबाबुले अनुमोदन गर्ने तरिकाले बाँच्नुपर्ने भावनात्मक भार पनि थोपर्छन्। अझ के भने, यी अपेक्षाहरू बच्चाले आफ्नो जीवन जसरी जिउन चाहन्छ, त्यससँग बाझिन पनि सक्छन्।

यदि कसैले वास्तवमै आफ्नो विरासतको एक हिस्साको रूपमा बच्चा हुर्काउन चाहन्छ भने (यद्यपि बच्चाहरूलाई विरासतको एउटा प्रोजेक्ट वा औजार बनाइनु हुँदैन), उनीहरूले धर्मपुत्र/धर्मपुत्री अपनाउन सक्छन्। पहिले नै अस्तित्वमा रहेका र सहयोगको आवश्यकता भएका कसैलाई हेरचाह र माया प्रदान गर्नु नै वास्तवमा सम्झिन लायक कुरा हो!

प्रजनन विरासत छोड्ने कुनै प्रभावकारी उपाय पनि होइन। इतिहासभरि अधिकांश मानिसहरूका सन्तान भएका छन् र उनीहरू प्रायः सबै बिर्सिइसकेका छन्। यदि तपाईंको बच्चाले पनि ठूला-ठूला उपलब्धिहरू हासिल गर्यो भने पनि, ती बच्चा नै सम्झिने पात्र हुन्छन्—तपाईंका आमाबाबु होइनन्। र जब कुनै आमाबाबुलाई सम्झिन्छ, त्यो लगभग सधैं यस कारणले हुन्छ कि उनीहरूले बच्चा जन्माउने कार्यभन्दा बाहिर केही महत्त्वपूर्ण काम गरेका हुन्छन्।

यदि कोही वास्तवमै विरासत छोड्न चाहन्छ भने, यो संसारमा सकारात्मक परिवर्तन ल्याउनु नै सम्भवतः सबैभन्दा उत्तम उपाय हो।

४६. तपाईँको एकदमै गलत कालो वा सेतो सोच छ; प्रजनन सधैं नराम्रो हुन्छ भनेर तपाईं भन्नै सक्नुहुन्न।

प्रजनन-विरोधीहरू आफ्ना विचारहरूमा दृढ वा स्पष्ट हुन सक्छन्, र यो कुरा किन नराम्रो मानिनुपर्छ भन्ने प्रस्ट छैन। मानिसहरू अरू धेरै गम्भीर विषयहरूमा पनि उत्तिकै दृढताका साथ विरोधमा उभिएका हुन्छन्: बालबालिकाको अपहरण, बलात्कार र नरसंहार, केही उदाहरण मात्र हुन्। के ती विचारहरूलाई गलत कालो वा सेतो सोच भनेर खारेज गरिनुपर्छ? बिलकुलै गरिँदैन। त्यसो हो भने, प्रजनन-विरोधलाई मात्र किन यसरी खारेज गर्ने?

हो, यदि कुनै प्रजनन-विरोधीले विरोधी तर्कहरूलाई ध्यान दिन अस्वीकार गर्छ वा इमानदार छलफलमा संलग्न हुन चाहँदैन भने, त्यो एउटा समस्या हो। तर त्यो त्यो विशिष्ट प्रजनन-विरोधीको मानसिकताको समस्या हो, दर्शन आफैंको होइन।

प्रजनन-विरोध एउटा एउटा गहन र विविध आयाम भएको दर्शन हो जसले कालो वा सेतो सोचलाई प्रोत्साहन गर्दैन—र गर्नु पनि हुँदैन। यसले विभिन्न किसिमका दृष्टिकोणहरूलाई समेट्छ, जहाँ प्रजनन-विरोधीहरू आफैं पनि केही मुख्य प्रश्नहरूमा प्रायः असहमत भइरहेका हुन्छन्, जस्तै: के लोप हुनु एउटा लक्ष्य हो कि परिणाम मात्र? के प्रजनन-विरोधमा अन्य जनावरहरूलाई पनि समावेश गरिनुपर्छ? के चरणबद्ध लोपको सन्दर्भमा प्रजनन स्वीकार्य हुन सक्छ? यी अनिर्णीत प्रश्नहरूको उपस्थिति आफैंमा के देखाउँछ भने प्रजनन-विरोध कुनै कालो वा सेतो सोचको उपज होइन।

४७. जीवन कुनै थोपरिएको बोझ होइन, यो त एउटा सुअवसर हो।

संभवतः, जीवनले प्रदान गर्ने 'सुअवसर' भनेको विस्मय, सुन्दरता, अर्थ र आनन्द जस्ता सकारात्मक कुराहरू अनुभव गर्ने मौका हो। तर यसलाई सुअवसरको रूपमा व्याख्या गर्नु नै गलत हो। यद्यपि पहिले नै अस्तित्वमा रहेको कुनै व्यक्तिले यस्ता सकारात्मक अनुभवहरूबाट लाभ उठाउन सक्छ, तर यदि उनीहरू कहिल्यै अस्तित्वमा आएका थिएनन् भने त्यहाँ ती कुराहरूको आवश्यकता वा चाहना राख्ने कोही पनि हुने थिएन। कुनै व्यक्तिलाई पहिल्यै सृष्टि गरिएका कारण मात्र उत्पन्न भएका चाहनाहरूको परिपूर्तिको वर्णन गर्नका लागि 'सुअवसर' शब्द पूर्णतया अनुपयुक्त देखिन्छ।

यद्यपि, प्रजनन-विरोधीहरूले जीवनलाई एउटा थोपरिएको बोझको रूपमा किन तार्किक ढङ्गले प्रस्तुत गर्न सक्छन् भन्ने विषयमा थुप्रै कारणहरू छन्। पहिलो कुरा, राम्रा कुराहरू हासिल गर्नुभन्दा नराम्रा कुराहरू घटित हुनु सामान्यतया धेरै सहज हुन्छ। उदाहरणका लागि, बिरामी पर्नु, चोटपटक लाग्नु र एक्लोपन महसुस हुनु जस्ता कुराहरू तिनलाई निम्त्याउन कुनै प्रयास नगरिकनै स्वतः घटेर जान्छन्। जबकि स्वास्थ्य, सुरक्षा र सम्बन्धहरू कायम राख्न प्रायः निरन्तर प्रयासको आवश्यकता पर्छ। दोस्रो कुरा, जीवन आवश्यकता र चाहनाहरूको एउटा अनवरत शृङ्खलाले भरिएको हुन्छ—जसमध्ये धेरैजसो पूरा नभएमा दुःख वा पीडा सिर्जना हुन्छ। र हामी प्रत्येकले ती आवश्यकताहरू पूरा गर्नका लागि—यदि सक्छौँ भने—निरन्तर काम गर्नैपर्छ, प्रायः त्यस्ता कामहरू गरेर जुन हामी गर्न चाहँदैनौँ। अनि ती चाहनाहरू पूरा भएपछि फेरि नयाँ चाहनाहरूले तिनको ठाउँ लिन्छन्। हामीले आफूलाई पाउने यो कठिन अवस्था हाम्रो आफ्नै छनौटको परिणाम होइन, तर यो त अरू कसैले हामीलाई सृष्टि गरेर हाम्रो नाममा गरिदिएको सहीछाप (सम्झौता) हो। यही कारणले गर्दा जीवनलाई एउटा थोपरिएको बोझ भनी चित्रण गर्नु तर्कसङ्गत हुन्छ।

यसको अर्थ जीवनमा राम्रा कुराहरू हुन सक्दैनन् भन्ने चाहिं होइन। यो त केवल यो कुरा औँल्याउनु हो कि हामीलाई सृष्टि हुनुपूर्व यीमध्ये कुनै पनि कुराको आवश्यकता थिएन, र तिनको उपस्थिति केवल हामी तीबिना अस्तित्वमा रहनुको तुलनामा मात्र एउटा लाभ हो—न कि कहिल्यै अस्तित्वमै नआएको स्थितिको तुलनामा।

४८. दुःख सधैं नराम्रो हुँदैन, धेरै मानिसहरू दुःखबाटै परिपक्व वा सक्षम बन्छन्!

यो सत्य हो कि दुःखले व्यक्तिको व्यक्तिगत विकास वा परिपक्वतामा योगदान दिन सक्छ—तर यो तथ्य मात्रैले अरूमाथि दुःख थोपर्नलाई जायज ठहराउँदैन, न त यसले दुःखको आफ्नै आन्तरिक नराम्रो स्वभावलाई नै मेटाउँछ।

व्यक्तिहरूले विकासको खोजीमा स्वेच्छाले दुःख भोग्न सक्छन्, वा उनीहरूले नचाहँदा-नचाहँदै पनि भोगेका दुःखबाट अगाडि बढ्ने तरिका फेला पार्न सक्छन्। वास्तवमा, एकपटक कोही अस्तित्वमा आइसकेपछि, केही स्तरको दुःख अनुभव गरेर अलिकति सहनशीलता विकास गर्नु सम्भवतः राम्रो कुरा हो। तर यो यसकारण होइन कि दुःख सकारात्मक हुन सक्छ, बल्कि यसकारण हो कि यसले थप ठूला दुःखहरूबाट बचाउने माध्यमको रूपमा काम गर्न सक्छ। र यो अरूमाथि जानाजानी दुःख थोपर्ने कार्यभन्दा बिल्कुलै भिन्न कुरा हो।

यदि कोही व्यक्ति दुर्व्यवहार वा अत्याचारको शिकार भएर पनि परिपक्व वा बलियो बन्छ भने, त्यसले त्यो दुर्व्यवहारलाई नैतिक रूपमा स्वीकार्य बनाउँदैन, न त अरूलाई त्यस्तै कामहरू गर्नका लागि नै जायज ठहराउँछ। सन्तानोत्पत्तिको विषयमा पनि ठिक यही तर्क लागू हुन्छ: कसैलाई अस्तित्वमा ल्याउनु भनेको उसमाथि गम्भीर हानि थोपर्नु हो, र व्यक्तिगत विकासको सम्भावना देखाउनु मात्रै यसको औचित्यका लागि पर्याप्त आधार बन्न सक्दैन।

यसबाहेक, दुःखमार्फत हुने विकासको कुरा प्रजनन र सृष्टिको सन्दर्भमा धेरै हदसम्म सान्दर्भिक छैन। विकास तब मात्र मूल्यवान हुन्छ जब त्यसबाट लाभ लिनका लागि कोही व्यक्ति पहिले नै अस्तित्वमा हुन्छ। कोही मानिस अस्तित्वमा आउनुअघि, त्यहाँ त्यस्तो कोही पनि हुँदैन जसलाई दुःखका केही रूपहरूले ल्याउन सक्ने त्यो साधनगत मूल्यको आवश्यकता होस्।

अन्त्यमा, यस संसारमा विद्यमान अधिकांश दुःखहरूले व्यक्तिगत विकास वा सिकाइका लागि थोरै मात्र अर्थपूर्ण अवसर प्रदान गर्छन्। उदाहरणका लागि, प्राणघातक रोगहरूले प्रायः तीव्र र लामो समयसम्म टिक्ने पीडा दिन्छन्। यस प्रकारको अनावश्यक र निरुद्देश्य पीडा सामान्य रूपमा व्याप्त छ र यसबाट व्यावहारिक रूपमा कुनै किसिमको लाभ मिल्दैन। त्यहाँ धेरै यस्ता व्यक्तिहरू पनि हुन्छन्—मानसिक वा बौद्धिक रूपमा अशक्त वा अन्य कुनै कारणले—जससँग दुःखलाई विकास वा सकारात्मक सिकाइमा रूपान्तरण गर्ने साधन वा क्षमता हुँदैन। उनीहरूको पीडा जस्तो छ, ठ्याक्कै त्यस्तै नै रहन्छ: केवल पीडा।

४९. जीवनमा जोखिमहरू हुन्छन् नै! के हामी सम्भावित खतराको डरले सधैं सुरक्षाको घेरा भित्र मात्र बस्न सक्छौँ र?

यो आपत्तिले प्रजनन-विरोधीहरूलाई आफ्ना गतिविधिहरूमा अत्यधिक सावधानी अपनाउने व्यक्तिका रूपमा चित्रण गर्छ। र यदि सबैले प्रजनन-विरोधीहरूको जस्तै जोखिम वहन गर्ने क्षमता राख्ने हो भने, यसले हामीलाई केही नराम्रो होला भन्ने डरले कहिल्यै आफ्ना घर बाहिर ननिस्कन बाध्य पार्नेछ। तर यो प्रजनन-विरोधीहरूले भनिरहेको कुराको गलत व्याख्या हो।

पहिलो कुरा, आफ्नै जीवनमा जोखिमहरू मोल लिनु र अरू कसैको तर्फबाट जोखिमहरू मोल लिनु बीचमा एउटा महत्त्वपूर्ण भिन्नता हुन्छ। प्रजनन-विरोध पछि भनिएको कुरासँग सम्बन्धित छ। एकपटक कोही अस्तित्वमा आइसकेपछि, उसले आफ्नो जीवनमा फाइदा पुग्छ भन्ने लागेर आफ्नै तर्फबाट जोखिमहरू उठाउने निर्णय गर्न सक्छ—प्रायः यसले हाम्रो जीवनलाई अझ राम्रो बनाउँछ। तर यो कार्य कसैलाई सृष्टि गरेर उसमाथि जोखिमहरू थोपर्ने कार्यभन्दा पूर्ण रूपमा भिन्न हुन्छ। नैतिक रूपमा, हामी अरूमाथि गम्भीर असर पार्ने निर्णयहरू गर्दा—विशेष गरी उनीहरूसँग त्यो विषयमा कुनै राय लिने अवसर नहुँदा—अझ बढी सतर्क हुने गर्छौं (र हुनुपर्छ पनि)। प्रजननमा यही कुरा लागू हुन्छ।

दोस्रो कुरा, प्रजननद्वारा थोपरिने जोखिमहरू निकै गम्भीर हुन्छन्। कसैलाई सृष्टि गर्नु भनेको उसलाई मानिसमाथि आइपर्न सक्ने सबै नराम्रा कुराहरूको सामुन्ने असुरक्षित बनाउनु हो: रोग, यातना, दीर्घकालीन बिमारी, यौन हिंसा, दुर्व्यवहार, शोक, युद्ध, गरिबी, क्यान्सर, उत्पीडन... यो सूची लामो छ। र उनीहरू सामान्यतया यस्तो जीवन बाँच्ने जोखिममा हुन्छन् जुन अत्यधिक खराब हुन सक्छ—येस्तो जीवन जो कोही पनि बाँच्न चाहँदैन। अन्य मानिसहरूमाथि यस्ता जोखिमहरू थोप्नबाट बच्न चाहनु पूर्ण रूपमा तर्कपूर्ण हो।

अन्त्यमा, त्यस्ता केही परिस्थितिहरू हुन्छन् जहाँ अरू कसैको तर्फबाट जोखिम मोल लिनु जायज ठहराउन सकिन्छ, तर यस्ता परिस्थितिहरू सामान्यतया त्यहाँ लागू हुन्छन् जहाँ सम्भावित हानि न्यूनतम हुन्छ वा जहाँ यसले सम्बन्धित व्यक्तिलाई ठूलो हानिबाट बचाउन मद्दत गर्छ। तर प्रजनन त्यस्ता केसहरूमध्ये पर्दैन। कोही व्यक्ति अस्तित्वमा आउनुअघि ऊ त्यस्तो कुनै पनि हानिको जोखिममा परेको हुँदैन जसले गर्दा उसको तर्फबाट कुनै जोखिम मोल लिनु आवश्यक होस्।

यदि प्रजनन यति धेरै सामान्य नभएको भए—र मानिसहरूको यसलाई सकारात्मक रूपमा हेर्ने निहित स्वार्थ नहुँदो हो त—यसले बोकेका जोखिमहरूलाई अझ बढी गम्भीरताका साथ लिइने थियो।

५०. कसैलाई सृष्टि गर्दा समग्रमा भलाइभन्दा बढी हानि हुन्छ कि हुँदैन भनेर त तपाईंलाई थाहा छैन नि! त्यसैले हामीले अज्ञेयवादी हुनुपर्छ।

कसैलाई सृष्टि गर्नु नैतिक रूपमा उचित छ वा छैन भन्ने विषयमा तटस्थ रहने पक्षमा प्रायः यसो भनेर बचाउ गरिन्छ कि त्यसो गर्दा समग्र परिणाम कस्तो हुन्छ भन्ने अनिश्चितता हुन्छ। यो आपत्तिको एउटा रूप यो दाबी हो कि प्रजनन गर्दा वा नगर्दा भविष्यमा कम दुःख हुन्छ भनेर हामी जान्न सक्दैनौँ।

अनिश्चित भविष्यका परिणामहरूप्रति अज्ञेयवादी हुनुको अर्थ यो होइन कि कसैले स्पष्ट र गम्भीर हानिहरू थोपर्ने कि नथोपर्ने भन्ने विषयमा पनि अज्ञेयवादी नै बस्नुपर्छ—विशेष गरी जब ती हानिहरू कुनै सहमति नदिएको (दिन नसक्ने) व्यक्तिमाथि थोपरिरहिएको हुन्छ। प्रजनन गर्ने मामिलामा, व्यक्तिमाथि आइपर्न सक्ने हानिहरू गम्भीर हुन्छन्: दीर्घकालीन बिमारी, यौन हिंसा, रोग, शोक, एक्लोपन, बुढ्यौली, शारीरिक हिंसा र अन्य धेरै। र यी हानिहरूको जोखिम बाहेक त्यो व्यक्तिले अनुभव गर्ने निश्चित दुःख त छँदैछ। जब यस्ता प्रत्यक्ष हानिहरू स्पष्ट हुन्छन् (भले नै बृहत् परिणामहरू अनिश्चित होऊन्), तब सावधानीको पक्षमा उभिनु र ती हानिहरू नथोप्पिनु नै तर्कपूर्ण देखिन्छ।

हामीले यो कुरा पनि स्वीकार गर्नै पर्छ कि जीवन कतिसम्म नराम्रो हुन सक्छ। केही जीवनहरूमा असाधारण दुःख हुन्छ—र जब गैर-मानव जनावरहरूको कुरा आउँछ, उनीहरूको जीवनमा त प्रायः भयानक स्तरको हिंसा हुन्छ। जब हामी कसैलाई सृष्टि गर्छौं, तब हामी यस्तै किसिमको जीवन सिर्जना हुने जोखिम मोल्छौं। त्यो जोखिम मोल्नुपर्छ कि पर्दैन भन्ने विषयमा तटस्थ बसिरहनु—विशेष गरी जब त्यो जोखिम कहिलेकाहीं सानो वा नगण्य हुँदैन—अत्यन्तै संवेदनहीन लाग्छ।

५१. यो केवल बच्चाको मात्र कुरा होइन! मानिसहरूलाई सृष्टि गर्दा अरूलाई पनि फाइदा पुग्छ र समाज सुधार हुन्छ।

बच्चा जन्माउँदा अरू कसैलाई—चाहे त्यो कुनै विशेष व्यक्ति होस् वा समग्रमा समाजलाई नै—फाइदा पुग्न सक्छ। आमाबाबुलाई नै उदाहरणको रूपमा लिनुहोस्; उनीहरूले बच्चा जन्माएर जीवनमा अर्थ र सन्तुष्टि पाउन सक्छन्, वा राज्यबाट आर्थिक लाभहरू प्राप्त गर्न सक्छन्।

तर वास्तविक प्रश्न यो हो कि, आफूलाई वा अरूलाई फाइदा पुर्‍याउनका लागि कुनै बच्चामाथि गम्भीर हानि थोपर्नु कत्तिको जायज हुन्छ? अझ त्यो बच्चालाई त हामी माया गर्छौं दाबी पनि गर्छौं नि! प्रजनन-विरोधीहरूले भावी आमाबाबुलाई उनीहरूले चाहेजस्तो तरिकाले यस प्रश्नको उत्तर दिन बाध्य पार्न सक्दैनन्, तर उनीहरूको भावी सन्तानमाथि आइपर्न सक्ने (र सम्भवतः आइपर्ने) हानिहरूको किसिमलाई विचार गर्दा उनीहरूलाई आफ्नो उत्तरमा पुनर्विचार गर्न बाध्य बनाउन सक्छ। यी हानिहरूमा रोग, बुढ्यौली, दुर्घटना, हिंसा, प्राकृतिक विपत्ति, शोक, मानसिक रोग, एक्लोपन र अन्य धेरै कुराहरू पर्छन्। बच्चा जन्माउँदा अरूलाई हुने फाइदाहरूको दुरुपयोग गर्दा अभिभावकहरूलाई यो प्रश्न सोध्दा यसको संवेदनहीनता अझ स्पष्ट हुन सक्छ: हामीलाई वा अरूलाई हुने कुन चाहिँ विशेष फाइदाले सम्भावित बच्चामाथि यी हानिहरू—वा यी हानिहरूको जोखिम—थोपरिनुलाई जायज बनाउँछ?

जब हामी यस्ता विशिष्ट कुराहरूसम्म पुग्छौं, तब व्यक्तिगत फाइदाका लागि अर्को व्यक्तिमाथि त्यस्ता हानिहरू थोपर्ने सुझाव दिनु कतिसम्म अशोभनीय र घिनलाग्दो छ भन्ने कुरा प्रष्ट हुन्छ।

५२. मानिसहरू तपाईंले सोचेभन्दा धेरै बलिया हुन्छन्, उनीहरूले जीवनका दुःखहरू सहन गर्न सक्छन्!

यस आपत्तिको जवाफमा दुईओटा कुराहरू भन्न सकिन्छ।

पहिलो कुरा, कुनै व्यक्तिमा जीवनका कष्टहरू सहन सक्ने क्षमता हुनु तब मात्र फाइदाजनक हुन्छ जब उसले ती कष्टहरूको सामना गर्नु पर्छ। यदि तिनीहरू कहिल्यै अस्तित्वमा आएका थिएनन् भने त्यहाँ जित्नुपर्ने कुनै कठिनाइहरू नै हुने थिएनन्। र कसैको कठिनाइ पार गर्ने क्षमतालाई नै उनीहरूलाई सृष्टि गर्ने र यसरी उनीहरूमाथि कष्ट थोपर्ने कारणको रूपमा प्रयोग गर्नु नैतिक रूपमा भ्रमपूर्ण छ। अझ त्यति मात्र होइन, तपाईंले अरूमाथि थोपिरहनु भएको कष्टलाई यो भनेर पन्छाउनु कि 'उनीहरूले यो सहन सक्छन्', यो केवल भ्रम मात्र होइन, बल्कि जिम्मेवारीबाट पन्छिने एक संवेदनहीन र अनैतिक तरिका हो।

दोस्रो कुरा, यदि तपाईं कठिनाइहरू पार गर्न सक्ने मानिसहरूको सिर्जनालाई राम्रो कुराको रूपमा हेर्नुहुन्छ भने पनि, त्यस्ता मानिसहरू ती व्यक्तिहरूको मूल्यमा पैदा हुन्छन् जो त्यसलाई पार गर्न सक्दैनन्। जब कोही मानिस प्रजनन गर्छ, तब उसले कस्तो किसिमको व्यक्ति सिर्जना गर्दैछ भन्ने कुरामा पर्याप्त रूपमा विश्वस्त हुन सक्दैन। उनीहरूले यस्तो व्यक्ति जन्माउन सक्छन् जोसँग आफूसामु आउने कठिनाइहरूको सामना गर्ने क्षमता हुँदैन। र जब अस्तित्वमा नै नआउने विकल्प पूर्ण रूपमा समस्यामुक्त छ भने, उनीहरू किन पहिलो स्थानमै यस्तो जोखिमपूर्ण स्थितिमा हुनुपर्छ?

५३. अरू कसैको दुःख रोक्नका लागि मैले बच्चा जन्माउने चाहना किन त्याग गर्नुपर्ने? यो त ठूलै त्याग हो नि!

प्रजनन नगर्ने निर्णयलाई त्यागको रूपमा हेर्नु किन स्वाभाविक हो भन्ने कुरा बुझ्न सकिन्छ। प्रजनन प्रायः मानिसहरूको जीवनयोजनाको एक महत्वपूर्ण हिस्सा हुन्छ र यसको नैतिकतामाथि प्रश्न उठाउने दृष्टिकोणसँग सामना गर्नु कष्टकर हुन सक्छ। र यदि कसैले प्रजनन-विरोधलाई स्वीकार गर्छ भने, उनीहरूको भविष्यका योजनाहरूमा ठूलै उथलपुथल आउन सक्छ।

त्यसो भन्दै गर्दा, नैतिकताले हामीबाट जुन अपेक्षा गर्छ त्यसै अनुसार चल्नका लागि हामीले कतिपय अवस्थामा आफ्ना चाहनाहरूलाई त्याग्नुपर्ने हुन्छ—र त्यसलाई 'त्याग' भनेर नाम दिनु अनुपयुक्त देखिन्छ। यसको एउटा उदाहरण विचार गर्नुहोस्: नैतिकताले हामीलाई अरूको सम्पत्ति नचोर्न आदेश दिन्छ। यदि कोही मानिस अरूका सामानहरू निरन्तर चोर्छ भने, उसको कार्यलाई नैतिकताले मागेको कुरासँग मेल खाने बनाउनु (अर्थात् चोरी नगर्नु) लाई 'त्याग' भन्नु गलत हुन्छ। यद्यपि, सौभाग्यवश, प्रजनन को सन्दर्भमा कुनै 'त्याग' गर्नै पर्दैन किनकि भावी आमाबाबुले बच्चा धर्मपुत्र/धर्मपुत्री अपनाउन वा संरक्षणमा लिन सक्छन्।

अन्त्यमा, यो आपत्तिले दुःख निवारण गर्नु र दुःख सिर्जना गर्नु लाई एकै ठाउँमा मिसाएर अन्योल पैदा गर्छ। कसैलाई सृष्टि नगर्नु भनेको अन्यथा भइसकेको हुने दुःखलाई रोक्ने कार्य होइन, यो त केवल दुःख नथोप्ने कुरा हो।

५४. तपाईंहरू त केवल कमजोर हौ! तपाईंहरू जीवन सम्हाल्न सक्दैनौ र अरू बलिया मानिसहरूलाई फस्टाउनबाट रोक्ने प्रयास गरिरहेका छौ।

यो प्रतिक्रिया एक प्रकारको व्यक्तिगत प्रहार हो, तर यसलाई सम्बोधन गर्न सकिन्छ।

यहाँ 'कमजोर' शब्द सम्भवतः शारीरिक शक्तिको अर्थमा होइन, बल्कि मानसिक दृढता वा सहनशीलताको अर्थमा प्रयोग गरिएको छ। प्रजनन-विरोधीहरू यस मामिलामा विशेष रूपमा कमजोर हुन्छन् भन्ने कुनै कारण छैन। केही प्रजनन-विरोधीहरूमा मानसिक दृढताको कमी हुन सक्छ, तर धेरैजसो मानिसहरूमा पनि यो कुरा लागू हुन्छ। सबै मानिसहरू जस्तै प्रजनन-विरोधीहरू पनि सहनशीलताको एउटा दायराभित्रै रहेका हुन्छन्।

र प्रजनन-विरोधीहरूले मानिसहरूलाई फस्टाउनबाट रोक्ने प्रयास गरिरहेका छन् भन्ने सोच्ने कुनै आधार छैन। कसैले बच्चा जन्माउनुलाई एक व्यक्तिको रूपमा आफू फस्टाउने तरिकाको रूपमा हेर्न सक्छ, र यो कुरा नैतिकताले हामीबाट अपेक्षा गर्ने कुरासँग बाझिनु दुःखद हो। अवश्य पनि, प्रजनन-विरोधीहरूले त्यस्ता व्यक्तिहरूलाई फस्टाउने अन्य तरिकाहरू—जस्तै बच्चा धर्मपुत्र/धर्मपुत्री अपनाउन लागि पूर्ण रूपमा समर्थन गर्छन्।

५५. तपाईंहरू गरिब मानिसहरूमाथि किन ध्यान केन्द्रित गर्दैनौ? उनीहरूका त थुप्रै बच्चा हुन्छन्!

प्रजनन-विरोध भनेको कुनै पनि चेतनायुक्त जीवलाई सृष्टि गर्नु नैतिक रूपमा गलत हो भन्ने दृष्टिकोण हो, यो कुनै विशेष धार्मिक, आर्थिक वा जातीय समूहहरूमा मात्र लागू हुँदैन। उच्च र निम्न दुवै आय भएका देशका मानिसहरूलाई प्रजनन-विरोधी दृष्टिकोणको बारेमा अवगत गराउनुपर्छ।

अब, यो आपत्ति उठाउने व्यक्तिले अरूतिर औँलो ठड्याउनुअघि उनीहरू कुनै भ्रममा परिरहेका छैनन् भनी सुनिश्चित गर्नु बुद्धिमत्तापूर्ण हुनेछ। जब उनीहरू गरिबहरू को कुरा गर्छन्, तब उनीहरू भारत, बङ्गलादेश वा चीन जस्ता ठूला जनसङ्ख्या भएका मध्यम आय भएका देशहरूको बारेमा सोचिरहेका हुन सक्छन्। यद्यपि, यी देशहरूमा जन्मदर प्रति महिला २.१ जन्मको प्रतिस्थापन दरको वरपर वा त्यसभन्दा तल झरिसकेको छ [1]; वास्तवमा, परम्परागत रूपमा गरिब मानिने केही देशहरूको प्रजनन दर उच्च आय भएका देशहरूको भन्दा पनि कम छ। उदाहरणका लागि, २०२३ सम्मको तथ्याङ्क अनुसार, चीनको औसत प्रजनन दर बेलायत र अमेरिकाको भन्दा पनि कम छ।

त्यसो भन्दै गर्दा, यस्ता केही देशहरू छन् जहाँ औसत प्रजनन दर अझै पनि विश्वव्यापी औसतभन्दा धेरै बढी छ; र यी देशहरू प्रायः निम्न आय भएका नै हुन्छन्। तर यसलाई ती जनसङ्ख्याहरूमाथि लाञ्छना लगाउने कारणको रूपमा हेर्नु हुँदैन। यी देशहरूमा प्रजनन दर उच्च हुनुको कारण सामान्यतया उच्च शिशु मृत्युदर, प्रभावकारी गर्भनिरोधक साधनहरूमा पहुँचको कमी र यस्तै अन्य कारकहरू हुन्। उनीहरूको उच्च प्रजनन दरका कारणहरूलाई पहिचान गरेर हामी त्यस्ता नीतिहरू र/वा अभियानहरूलाई समर्थन गर्न सक्छौं जसले मानिसहरूलाई सहयोग गर्नुका साथै जन्मदरलाई पनि एकैसाथ घटाउन मद्दत गर्छ।